तपाईँ सुन्दै हुनुहुन्छः

यार्सा सङ्कलनका लागि साइपालका विद्यालय असारसम्म बन्द गरिने

बझाङ । बझाङको साइपाल गाउँपालिका भित्रका विद्यालय भोलिदेखि एक महिनासम्म बन्द गरिने भएको छ ।

अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द हुने भएका हुन् । उत्तरी भेगका काँडा मावि, धलौन मावि लगायतका विद्यालय जेठ १ गतेदेखि बन्द गर्न लागिएको हो ।

अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् ।’

उत्तरी भेगमा पर्ने काँडा गाउँपालिका, सुर्मा गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, तल्कोट गाउँपालिका र दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका र बुंगल नगरपालिका अन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरू यार्सा सङ्कलनमा गएपछि बन्द गरे जस्तै भएका छन् ।

उत्तरी भेगमा अवस्थित दूर दराजका ती विद्यालय वर्षेनी तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा १ महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मान बहादुर बोहराले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।

यार्सा सङ्कलनबाट साइपालमा ७ लाख बढी राजस्व सङ्कलन
बझाङको साइपाल गाउँपालिकामा यार्सा सङ्कलनकर्ताबाट ७ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यही वैशाख १० गतेबाट यार्सा सङ्कलनका लागि वन खुल्ला गरिएको थियो ।

सोही दिनदेखि आजसम्म ७ सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा सङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button