तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा बढ्दै भारतीय चलचित्रको छायाङ्कन

काठमाडौँ । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुने क्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कन स्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको धेरै भएको छैन ।

विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो । त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् ।

गत साता मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खलाको छायाङ्कन काठमाडौँदेखि पोखरासम्म गर्नुभयो । अभिनेता अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को छायाङ्कनसमेत पोखरामा भएको थियो ।

यी प्रतिनिधि नाम मात्र हुन् । ससाना शृङ्खला, साङ्गीतिक भिडियो उत्तिकै सङ्ख्यामा छायाङ्कन भइरहेका हुन्छन् । नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन डिजाइनर अरुण रेग्मीले जानकारी दिनुभयो । उहाँसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपाल व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाङ्कनमा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन् ।

“विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकले समेत सिक्न पाए । उहाँहरूको काम गर्ने शैली परिपक्व छ । ठुलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ”, प्रोडक्सन डिजाइनर रेग्मीले भन्नुभयो । विशेषतः विदेशबाट नेपालमा छायाङ्कन टोली आउँदा एक सयभन्दा बढी प्राविधिक आउने गरेका छन् । उनीहरूले स्थानीयसँग सहकार्य गरेर काम गर्ने गरेका छन् ।

‘मिराई’ को नेपाल व्यवस्थापन हेरेका प्रोडक्सन डिजाइनर मनोज जोशीले काम गर्न सहज भएको बताउनुभयो । “उहाँहरूसँग काम गर्दा आफ्नो जिम्मेवारी लिएपछि ढुक्क हुन्छ । नेपाललाई मन पराएको भन्ने नै सुन्छु । नेपालीको स्वागत सत्कारले उहाँहरूलाई लोभ्याएको पाएको छु”, जोशीले भन्नुभयो । समूहमा काम गर्दा बलिउडका ठुला कलाकारले पनि सरलता प्रस्तुत गर्ने प्रोडक्सन डिजाइनर रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button