तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षमा प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी, पाठकको भीड

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरु गरेको छ ।

प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनीमा उल्लेख्य रूपमा पाठकको भीड लागेको छ । प्रदर्शनीमा प्रज्ञाले विसं २०३० देखि २०७९ को चैतसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो । रु तीनदेखि रु तीन हजार तीन सय ५० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन लगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब पाँच सयभन्दा बढी थरिका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

प्रज्ञा नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोश लगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि उहाँले दिनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रदर्शनी वैशाख १८ गतेसम्म सञ्चालन गरिने भएको छ । पाठकको रुचि भएमा केही दिन प्रदर्शनी समय बढाउन पनि सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button