तपाईँ सुन्दै हुनुहुन्छः

वनजंगलमा डढेलो लाग्न नदिन मोरङमा सचेतना  अभियान   

विराटनगर । गर्मी यामसँगै तराईका वनजंगलमा आगलागी तथा डढेलो लाग्न नदिन डिभिजन वन कार्यालय मोरङले डढेलो रोकथाम एवं नियन्त्रण अभियान शुरु गरेको छ ।  चैतदेखि तीन महिनासम्म  वनजंगलमा डढेलो तथा आगलागीका घटना हुने गर्दछन् ।  डढेलो नियन्त्रणका लागी सो कार्यालयले सबै सामुदायिक तथा साझेदारी सामुदायिक वन सँग समन्वय गर्दै अभियान चलाएको हो । 

वनमा  डढेलो तथा आगलागीका घटना हुन नदिन डिभिजन वन कार्यालय मोरङले अभियान नै सञ्चालन  गरेर सक्रियता देखाएको छ ।

 एउटा स्यानो आगोको झिल्कोले वनजंगलमा हुने आगलागी तथा डढेलोका कारण वनजंगल सखाप हुने गरेको छ यस बारेमा जनमानसमा जानकारी गराउन  वन कार्यालयको सक्रियतामा   सामुदायिक वन उपभोक्ता समूहले  प्रचार प्रसार गर्ने देखि वनजंगलमा सामूहिक रुपमा गस्ती तथा जङ्गल सफाइ गर्ने कार्यलाई अहिले  तीव्रता दिएका छन् ।  कार्यालयले वनमा डढेलो लाग्न नदिन विभिन्न सञ्चार माध्यम बाट व्यापक जनचेतना  फैलाउने गरी सन्देश प्रवाह गरिरहेको छ ।  

डिभिजन वन कार्यालय विराटनगरका प्रमुख अनिरुद्ध साहले वन जङ्गलमा डढेलो लाग्न नदिन विभिन्न जनचेतना मूलक कार्यक्रम  सञ्चालन गर्दै  डढेलो लागे नियन्त्रणका लागी कार्यालयले चारवटा टेन्कर , वन रक्षक तथा अग्नि नियन्त्रण सम्बन्धी विभिन्न औजार सामाग्री  तयारी अवस्थामा राखेको बताउनुभयो । मोरङका वनहरूमा डढेलो लागिहाले पनि डढेलो नियन्त्रण भन्दा बाहिर नगएको र  त्यसलाई रोक्न कार्यालय सक्षम रहेको उहाँले बताउनुभयो ।   

४४ हजार हेक्टर क्षेत्रफल वन रहेको  मोरङ जिल्लामा रहेका १ सय ३४  वटा सामुदायिक तथा चारवटा साझेदारी वन रहेका छन् । 

मानवीय लापरबाही कारण वनजगंलमा डढेलो लाग्ने गरेको पाइन्छ । वनमा जाँदा चुरोट बिडी खाएर चुरोटका ठुटाहरू राम्रोसँग ननिभाउने र  त्यतिकै फाल्ने गरेकाले आगालागिका घटना हुने गरेका छन् । कतिपय मानिसहरूले  जानी वा नजानी यस्ता कार्य गर्दा करोडौँ मूल्यका काठ दाउरा जलेर खरानी हुँदा वन विनाश हुने गरेका छन् ।  

   हरियाली सामुदायिक वनका  अध्यक्ष कावुुल वहादुुर मगरले वन जङ्गलमा आगलागीका घटना हुन नदिन वन उपभोक्ता समूह परिचालन गरेको  बताउनुभयो । उक्त सामुदायिक वनमा ४५ टोला रहेकोमा बिहान १५ जना तथा रातीको समयमा १५ जना गरि ३० जनाले अहिले  २४ घण्टा वनमा गस्ती गर्ने गर्दछन् ।

त्यस्तै अमना सिसौली  सामुदायिक वनका अध्यक्ष लिला प्रसाद आचार्यले पनि डढेलो नियन्त्रण अभियानमा उपभोक्ता समूह सक्रिय भएको बताउनुभयो ।  १७ वटा टोला समिति , उपभोक्ता समिति तथा वन समिति परिचालन गरेर वनक्षेत्र भित्र रहेका अग्नीरेखा सरसफाइ गर्ने तथा वनमा गस्ती गर्ने कार्य भइरहेको आचार्यको भनाई छ । 

 डढेलो नियन्त्रण अभियान चलाएपछि वनमा आगलागी मात्र होइन चोरी तस्करी समेत नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालय मोरङसँग सीमित साधन श्रोत भएपनि वन सुरक्षाका लागी  कार्यालयले हर सम्भव प्रयास गरिरहेको स्थानीयको भनाई छ । 

डढेलोले  वन जङ्गलमा मात्र  नभई वन भित्र रहेका बहुमूल्य जडीबुटी तथा वन्यजन्तुमा समेत ठुलो क्षति  पुग्ने भएकाले वनमा आगलागी तथा डढेलो लाग्न नदिन समयमा सावधानी अपनाउन समेत कार्यालय प्रमुख अनिरुद्ध साहले  आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button