तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा ब्लड बैङ्क नहुँदा समस्या

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा ब्लड बैङ्क नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा सेना र प्रहरीको भर पर्नुपर्ने भएको छ ।

जिल्ला अस्पतालमा ब्लड बैङ्कको व्यवस्था नहुँदा रगत आवश्यक परे सुरक्षाकर्मीलाई खबर गर्नुपर्ने अवस्था रहेको छ । 

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलका अनुसार बिरामीलाई रगत चाहिएको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीको रगतको भर पर्नुपर्ने बाध्यता छ ।

पछिल्लो साता मात्रै नलगाड नगरपालिका –२ डाँडा गाउँकी ३२ वर्षीया पशुपति गिरीलाई आकस्मिक रगत चढाउनुपर्ने भएपछि रक्त समूह मिल्ने अस्पताल वरिपरिका सबैलाई आग्रह गरियो । तर रक्तदानका लागि कोही पनि तयार नभएपछि अन्तिम अवस्थामा प्रहरी जवानबाट रगत पूर्ति गर्नुपरेको बिरामीका आफन्त बताउनुहुन्छ । उहाँहरूका अनुसार रगत आवश्यक पन बित्तिकै कोही तयार नभएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले नेपाल प्रहरीलाई खबर गर्दा बिरामीसँग रक्त समूह मिल्ने प्रहरी आएर रगत दिएका थिए ।

जाजरकोटमा यसपटक मात्रै हैन, वर्षेनी अस्पतालमा आवश्यक रगत जिल्लाकै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले उपलब्ध गराउँदै आएका छन् । 

अस्पतालमा रगत आवश्यक परेका बिरामीलाई सबै जिल्लामा कार्यरत सुरक्षाकर्मीहरूबाटै उपलब्ध गराइएको कँडेलले बताउनुभयो । अस्पतालको रगत व्यवस्थापनको भरपर्दो माध्यम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी भएको उहाँको भनाई छ ।

अस्पतालमा ब्लड बैङ्क नभएका कारण रगत सङ्कलन गर्न नसकिने भएकाले अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई रगत आवश्यक परेमा तत्कालै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरी आवश्यक रगत पूर्ति गर्नुपर्ने अवस्था रहेको कँडेल बताउनुहुन्छ ।

कँडेल भन्नुहुन्छ, “बिरामीलाई रगत अभाव हुँदा अस्पतालले सेना र प्रहरीलाई ब्लड बैङ्कको रुपमा लिनु हाम्रो बाध्यता छ । बिरामीलाई आवश्यक पर्ने रगत पूर्तिको एक मात्र उपाय जिल्लामा कार्यरत सुरक्षाकर्मी मात्रै बनेका छन् ।”

जिल्लाका सात वटै पालिकाले बजेटको व्यवस्था गर्ने र अस्पतालले ब्लड बैङ्क सञ्चालन गर्ने एक बर्ष पहिले जिल्ला प्रशासन कार्यालयमा निर्णय समेत भएको थियो । सो निर्णयलाई स्थानीय तहले चासोका रुपमा नहेर्दा ब्लडका लागि बिरामीहरूले निकै दुःख भोग्नुपरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button