तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको रोजाइमा ‘अर्ग्यानिक खान्की’

जुम्ला । जुम्लास्थित चन्दननाथ मिनि मार्केटले दुई वर्षमा झण्डै १ करोड १५ लाख बढीको जुम्ली रैथाने अन्नबाली बिक्री गरेको छ ।

चन्दननाथ बहुउद्देश्यीय सहकारीबाट सञ्चालित मिनि मार्केटले एक वर्षमा १ करोड १५ लाख १० हजारको रैथाने अन्न मार्सी चामल, सिमि, चिनो, कागुनो, फापर, स्याउका चाना, मह लगायतका विभिन्न वस्तु निर्यात भएको मिनि मार्केटका इन्चार्ज ईश्वरीनन्द उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,“रैथाने वस्तुको माग थेगिनसक्नु छ । सिजनमा एकै दिनमा डेढ लाख बढीको सामान बिक्छ । फाटफुट प्रतिदिन ५०/६० हजार सामान बिक्री भइरहेको छ ।”

मिनि मार्केट सञ्चालन गर्दा १ करोड ९५ लाख ६ हजार ५ सय ६० रुपैयाँको रैथाने अन्न खरिद गरिएकोमा हाल सम्म १ करोड १५ लाख १० हजारको सामान बिक्री भएको हो । मिनि मार्केटमा अब ८० लाख ४२ हजारको सामाग्री मौज्दात रहेको छ ।

‘बजारको भन्दा प्रत्येक वस्तुमा ५ देखि १० रुपैयाँ छुट दिने गरेका छौ । जुम्लामै लेबलिङ प्याकेजिङ गरेर बिक्री हुन्छ ।’ अर्डर अनुसार सुर्खेत नेपालगन्ज, काठमाडौँ, विराटनगर, बुटवल धनगढी लगायतका सहरमा निर्यात हुँदै आएको चन्दननाथ सहकारीका प्रबन्धक ऋषिराम पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार हाल सम्म ३५ लाखको खरायाको टोपी मात्रै बिक्री भइसकेको छ । खरायो पालनमा वृद्धि नहुँदा माग अनुसार टोपी पुराउन नसकेको उहाँको भनाई छ ।

२० लाखको सिमि, १० लाखको स्याउको चाना, १२ लाखको मार्सी चामल, घोडो मच्चो (अर्ग्यानिक चिया) घ्यु, मह, फापरको पिठो लगायतका वस्तु बिक्री भएका छन् । मिनि मार्केटमा चन्दननाथ बहुउद्देश्यीय सहकारीका सदस्यहरुले उत्पादन गरेको रैथाने अन्न खरिद गर्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button