तपाईँ सुन्दै हुनुहुन्छः

बन्द हडतालको विकल्प खोज्न व्यवसायीको माग

झापा । झापाका उद्यमी–व्यवसायीले बन्द–हडतालको विकल्प खोज्न आग्रह गरेका छन् । देशमा उद्योग–व्यवसाय धरासायी भइरहेको बेला बन्द–हड्ताल गरेर थप धरासायी नबनाउन आग्रह गरिएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासङ्घ बिर्तामोड नगर कमिटीले व्यापार व्यवसाय निर्बाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । आइतबार महासङ्घको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल उद्योग तथा व्यवसाय महासङ्घ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा बन्द हड्ताल जस्ता कार्यले नेपाली अर्थतन्त्र तहसनहस हुने निश्चित भएको जनाइएको छ ।

विज्ञप्तिमा आर्थिक मन्दीकै कारण आयआर्जनमा परेको नकारात्मक असरका कारण आम्दानी घटेकोले बैङ्कको व्याज समेत तिर्न नसकेर व्यवसायी आत्मदाह र आत्महत्यासम्मको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासङ्घले विरोधका अन्य वैकल्पिक उपायहरू अपनाएर बजार, यातायात तथा शैक्षिक संस्था बन्द गर्ने कार्य तत्काल फिर्ता लिई व्यापार व्यवसाय निर्बाध रुपमा सञ्चालन गर्ने वातावरणको माग गरेको हो ।

महासङ्घ नगर कमिटीले बन्द हड्ताल जस्ता कार्य निरन्तर भइरहेमा सम्पूर्ण व्यवसायी त्यसको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासङ्घ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, व्यवसायी चूडामणि पौडेल लगायतको टोलीले ज्ञापनपत्र बुझाएका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button