तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव आजदेखि शुरु

चितवन  । प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक महोत्सव आजदेखि शुरु हुंँदैछ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन हुने उक्त महोत्सवको उद्घाटन सोही क्षेत्रका सांसद डाक्टर शशाङ्क कोइरालाले गर्नुहुने भएको छ ।  

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा फागुन २१ देखि चैत १ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले शनिबार आयोजिते पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गण्डकी प्रदेशको  समग्र आर्थिक गतिविधिलाई चलायमान गर्न महोत्सव आयोजना गरिएको बताउनु भयो  । महोत्सवले गण्डकी प्रदेश सरकारले घोषणा गरेको औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाई छ । 

महोत्सवको मुख्य उद्देश्य नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा सम्भावनाको खोजी गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडरको प्रचार गर्ने उहाँले बताउनु भयो  । 

महोत्सवमा औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत स्टलहरू रहेका छन् । ‘उद्योग व्यापार, कृषि पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय ’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सवमा  स्थानीय उत्पादन र पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुने उहाँको भनाई छ । 

मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र बाल उद्यान पनि समावेश गरिएको छ । महोत्सव सुरु हुनु पूर्व गैँडाकोटस्थित भृकुटी चोकबाट झाँकीसहितको शोभा यात्रा गरिने छ । 

महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले महोत्सवमा ३०० वटा स्टल रहने जानकारी दिनु भयो  । औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरूको घरायसी सामान, लत्ताकपडा, शृङ्गारका सामग्रीहरु महोत्सवमा बिक्री तथा प्रदर्शनी हुने भट्टचनले बताउनु भयो  । 

महोत्सवको सुरक्षाका लागि सिसी क्यामेराबाट निगरानीका साथै सबै स्टलहरूको बीमा गरिएको भट्टचनले जानकारी दिनुभयो  । करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको उहाँले  बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button