तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायी कफी खेतीमा इलामको शान्तिपुर

इलाम । इलामको रोङ गाउँपालिकामा व्यावसायिक रुपमा कफी खेती गर्न थालिएको छ । त्यसमा पनि रोङ गाउँपालिका वडा नंं १ साबिक शान्तिपुरमा कफीको सबैभन्दा बढी खेती भइरहेको छ । 

स्थानीय कफी किसान तथा कफी विज्ञ तिलक कोइरालाका अनुसार कफी खेती समुद्री सतहबाट ८ सय मिटर भन्दा उचाइमा उत्पादन गरिने मात्र गुणस्तरीय हुने हुँदा शान्तिपुरका पदामटार धनसार मङ्गलटार बरफ्ल्याङ दुधे क्षेत्र कफी खेतीलाई त्यति प्राथमिक दिइएको छैन । 

कफी किसान कोइरालाका अनुसार शान्तिपुर क्षेत्रमा अरबीका र रोयस्ता गरी दुई जातका कफी लगाइएको छ । अरबीका चाहिँ लेक औल दुबै ठाउँमा उत्पादन गर्न सकिन्छ । कफी एक वनस्पति तथा यस बाट बनाइने पेय पदार्थ हो । सामान्यतया  कफीको बोट दस मिटरसम्म अग्लो हुन सक्छ तर यसलाई काटेर छोटो पारिन्छ । कफीको उत्पत्ति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेती दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिण पूर्व एसियामा हुन्छ । धेरै देशको अर्थतन्त्रमा यसको ठुलो महत्त्व रहन्छ । कफी पेट्रोलियम पदार्थ जतिकै कारोबार हुने बाली हो । नेपालमा  सन् १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएर रोपेको इतिहास पाइन्छ । उहाँले उक्त कफीको बिउँ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरुवात भएको मानिन्छ ।

हाल शान्तिपुरका ५ सय ५ किसानले कफी उत्पादन गर्दै आइरहेका छन् । उक्त क्षेत्रमा विधिवत् रुपमा २०७६ देखि कफी खेती शुरु भएको हो  । कोइरालाका अनुसार शान्तिपुर क्षेत्रमा दुई वटा कफी फार्म पनि सञ्चालनमा रहेका छन् ।

कफी सामान्यतया रोपिएको ३ वर्ष देखि फल्न थाल्छन् । कफी खरिद बिक्री समेत गर्दै आएका स्थानीय कफी किसान तिलक कोइरालाका अनुसार कच्चा कफी (बोक्रा सहितको कफीको दाना) प्रती केजी ७० देखि ८० रुपैयाँमा किनबेच हुने गरेको छ भने  प्रशोधन गरिएको कफी चाहिँ ५ सय ५० देखि ६०० रुपैयाँसम्ममा किनबेच भइरहेको छ । उहाँका अनुसार समुद्री सतहबाट ७०० मिटर बन्दा मुनि उत्पादन भएको कफी बिक्री हुँदैन । तसर्थ ती क्षेत्रमा कफी उत्पादन भए पनि बिक्रीमा समस्या रहेको किसानहरू बताउँछन् । कफीमा पनि पहेँलो जातको कफीलाई राम्रो मानिन्छ । एक केजी प्रशोधन गरिएको कफी बन्न कम्तीमा ५ केजी कच्चा कफी चाहिन्छ । 

रोङ पालिकाले कफी खेतीलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैले कफीसँग सम्बन्धी विभिन्न तालिमहरू कफी किसानलाई दिँदै आएको छ । गाउँपालिकाले कफी बजारलाईसमेत  सहजीकरण गर्दै आएको देखिन्छ । किसानहरूलाई अनुदानमा पल्पिङ मेसिन ९ प्रशोधन मेसिन० उपलब्ध गराएको छ ।

कफी किसानका अनुसार कफी खुल्ला ठाउँमा फस्टाउन सक्दैन । यसलाई अनिवार्य छहारी चाहिन्छ । छहारीमा नरिवल सुपारी अन्य फलहरु एभोकाडो रुद्राक्ष लिची आदि लगाउन सकिन्छ । अन्यथा कफी पहेँलो भएर सुक्दै जान्छ । कफी सामान्यतया ६ र ६ फिटकाे अन्तर अथवा८–८ फिटको अन्तरमा लगाउन सकिन्छ । 

कफीको बिरुवा आफै उत्पादन गर्न सकिने भए पनि शान्तिपुर क्षेत्रमा बिरुवा उत्पादन गर्न मिल्ने कफीका बोट नरहेको बताइन्छ । कफीको बिरुवा उत्पादन गर्दा १० वर्षको भन्दा माथिका बिरुवाबाट फलेको दानाबाट गर्न सके मात्रै कफी गुणस्तरीय मानिन्छ । तर शान्तिपुर क्षेत्रमा ५ वर्षको भन्दा माथिको बिरुवा छैनन् । त्यहाँ  बिरुवा  उत्पादनमा समस्या रहेको देखिन्छ । कफी अन्य बिरुवासँग रुचाउने बाली हो । तर कफीको दानालाई धेरै कुराबाट जोगाउनु पर्ने हुन्छ । यसरी लगाइएको कफी खेतीको बिचमा अदुवा अलैँची बेसार सगरखन्ड, पिँडालु आदि पनि लगाउन सकिन्छ । 

शान्तिपुरका किसानहरू कफी खेतीबाट राम्रो आम्दानी हुने बताउँछन् । सजिलो खेती र राम्रै मूल्यमा बिक्री हुनेहुँदा आफ्नो बाझो बारीलाई सदुपयोग गर्न सके रोजगारको लागि विदेश जानू नपर्ने  शान्तिपुरका किसान बताउँछन् । यता अगुवा कफी किसान तिलक कोइराला शान्तिपुर क्षेत्रमा कफी फ्याक्ट्रीको आवश्यकता रहेको बताउनुहुन्छ । उहाँ शान्तिपुरलाई कफी पकेट क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । ्

युरोपमा चिया भन्दा कफीको बजार धेरै नै राम्रो रहेको हुँदा कफी किसानलाई प्रोत्साहन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । एउटा कफीको बिरुवा ३५ देखि ४५ रुपैयाँ पर्ने हुँदा शुरु मै किसानको लगानी बढी हुने देखिन्छ । त्यसैले उहाँ कफीको बिरुवा सुलभ मूल्यमा किसानलाई उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको बताउनुहुन्छ  । 

नेपालमा ३२ जिल्लामा व्यावसायिक कफी खेती हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ । विभागले गरेको‘नेपालमा व्यावसायिक कफी खेती सर्वेक्षण, २०७५–०७६’ मा ५० भन्दा बढी बोट रोपेर गरिने कफीको खेतीलाई व्यवसायीक कफी खेती मानिएको छ ।

किसानलाई गुणस्तरीय कफी खेती गर्न प्राविधिक सेवा, सिँचाइको सुविधा, सहज तथा सहुलियतपूर्ण ऋण र मल, बिउँ पुर्‍याउने हो भने कफीको उत्पादन राम्रो भई अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button