तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तुको लागि ताल निर्माण 

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकामा रहेको दुई सामुदायिक वनमा वन्यजन्तुको लागि ताल निर्माण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, लामिचौर उपभोक्ता समिति अन्तरगत रहेका दुईवटा सामुदायिक वन भित्र ताल निर्माण गरिएको हो ।

नमुना मध्यवर्ती सामुदायिक वन र कृष्णसार मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तुका लागि ताल निर्माण गरिएको हो । वनभित्र जमिनमुनिबाट आएको प्राकृतिक पानीलाई व्यवस्थित गर्दै ताल निर्माण गरिएको लामिचौर उपभोक्ता समितिका सचिव एल. एन. दवाडीले जानकारी दिनुभयो । डब्लु डब्लु एफको  सहयोगमा ताल निर्माण गरिएको दवाडीले बताउनुभयो । बनभित्र ताल निर्माण भएपछि वन्यजन्तु पानी पिउन , आहाल खेल्न बाहिर ननिस्कने ,जसले गर्दा वन्यजन्तु मानव बस्तीमा आउने सम्भावना कम हुने दवाडीले बताउनुभयो ।

पछिल्लो समय जङ्गलमा रहेका वन्यजन्तुहरू पानीको खोजीमा मानव बस्तीभित्र आउने भएकाले पनि उनीहरूलाई जङ्गलभित्रै पानीको व्यवस्थापन गर्न खोजिएको उहाँले बताउनुभयो । जङ्गलमा रहेका वन्यजन्तु र चराचुरुङ्गीलाई पनि पिउने पानीको आवश्यकता पर्ने हुँदा ताल उपयोगी हुने उहाँको भनाई छ ।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा ताल निर्माण सम्पन्न भएको छ । भने, नमुना मध्यवर्ती सामुदायिक वनमा निर्माण चलिरहेको छ । 

यस अघि पनि लामिचौर उपभोक्ता समिति अन्तरगत पर्ने विभिन्न सामुदायिक वनमा  चारवटा ताल निर्माण गरिएको दवाडीले जानकारी दिनुभयो ।  ‘विभिन्न कारणले सिमसार क्षेत्र मासिने , सुक्ने क्रम बढ्दै गएकाले वन्यजन्तुहरू पानीका लागि बस्तीभित्र प्रवेश गर्ने गरेका छन् । जसले वन्यजन्तु र मानवबीच द्वन्द्व  निम्त्याइरहेको छ । 

जैविक विविधतामा असर पुर्‍याइरहेको छ । जैविक विविधता संरक्षण र मानव वन्यजन्तु बीचको द्वन्द्व  कम गर्न लामिचौर उपभोक्ता समितिले यस्ता कार्य गरिरहेको छ । ’ दवाडीले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button