तपाईँ सुन्दै हुनुहुन्छः

बौदीकाली र विनयी त्रिवेणीमा प्रशासनिक भवन निर्माण हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुई पालिकामा प्रशासनिक भवन निर्माणको काम  अघि बढेको छ ।

जिल्लाको पहाडी पालिका बौदीकाली  गाउँपालिकाको कार्यालय भवनको काम अहिले १० प्रतिशत सम्पन्न भएको छ । अत्याधुनिक सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो ।  भुइँतलामा शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न शाखाहरू हुनेछन् । 

पहिलो तलामा पालिका  अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यालय रहनेछ भने, दोस्रो तलामा बैठक कक्ष, न्यायिक इजलास कक्ष र  कर्मचारीका लागि आवास कक्ष निर्माण गरिने अध्यक्ष ओझाले बताउनुभयो  । लिफ्ट सुविधा सहित तीन अहिले  तीन तले कार्यालय भवन निर्माण गरिनेछ ।

कामाख्या बिएम जेभि कोटेश्वरले दुई वर्षभित्र सम्पन्न गर्ने गरी गत वैशाखबाट काम सुरु गरेको हो । ६ करोड ३४ लाख, ४५ हजार ७८६ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

यस्तै विनयी त्रिवेणी गाउँपालिकाले पनि प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाको हालको भवन साँघुरो हुँदा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । भवन , बहुउद्देश्यीय हल सहितका संरचना निर्माण गर्न प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

गाउँपालिका आफैमा स्थानीय सरकार भएको र हाल पालिका भित्रका विभिन्न शाखाहरूबाट सेवा प्रवाह गर्नुपर्ने भएपनि आवश्यक भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या भएकाले सुविधा सम्पन्न भवन निर्माणको प्रक्रिया अघि बढाइएको अध्यक्ष  गिरीले बताउनुभयो । स्वास्थ्य शाखा, कृषि, पशु, शिक्षा, पूर्वाधार, महिला बालबालिका सहित विभिन्न शाखाहरू मार्फत सेवा दिनुपर्ने र हाल साँघुरो ठाउँबाट सेवा दिन समस्या भएको, कार्यकाललाई सेवाग्राही मैत्री बनाउन समेत समस्या भएकाले सबै कुराको व्यवस्थापन समग्रमा सेवा प्रवाह सहज बनाउनका लागि नयाँ भवन निर्माणको योजना अघि बढाइएको अध्यक्ष गिरीले बताउनुभयो ।

भवन निर्माणका लागि हाल भवन रहेको स्थानदेखि उत्तर तर्फ पालिकाको वडा नम्बर–२, मा आवश्यक जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको छ । गाउँपालिका लागि करिब चार बिघा १७ कट्ठा सत्र धुर  क्षेत्रफल जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । यसका लागि कन्सल्टेन्टलाई वातावरणीय अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माणको जिम्मा दिइएको छ । 

गाउँपालिकाको प्रशासनिक भवन निर्माण पछि सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सहज र छिटो सेवा उपलब्ध गराउन सहयोग पुग्ने, बहुउद्देश्यीय सम्मेलन हलको निर्माण पछि यस क्षेत्रमा  हुने कार्यक्रमहरू, सभा, सम्मेलनहरू आयोजना सहज हुने र पालिकाले भाडामा दिएर आम्दानी समेत लिन सक्ने छ ।

भवनसँगै निर्माण गरिने  सुन्दर फूलबारी, बगैँचाले वातावरणीय र पर्यटकीय दृष्टिले समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । हाल त्यहाँ रहेको राम मन्दिर, बराह मन्दिर र पौडेल कुल देवता मन्दिर अकलादेवी मन्दिरको मोडलमा निर्माण गर्ने योजना रहेको छ । प्रशासनिक भवन सँगै धार्मिक ,सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना समेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button