तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा ५ हजार १० टन युरिया मल आइपुग्यो

वीरगञ्ज । सरकारले भारतसँग जीटूजी प्रक्रियाबाट किनेको युरिया मल अहिले धमाधम मुलुकको प्रमुख नाका वीरगञ्ज हुँदै नेपाल भित्रिएको छ ।

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेसन हुँदै एक साता यता दुई रेलवे र्‍याकमा ५ हजार १० टन युरिया मल नेपाल भित्रिइसकेको छ ।

कृषि सामाग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा मल राखिएको भए पनि किसानले समयमा पाउन नसक्दा गहुँ बालीमा छर्ने मल नभएको गुनासो किसानले गरेका छन् ।

अहिले गहुँ खेतीको लागि युरिया मल आवश्यक रहेकोले सहज रुपमा किसानले मल पाउने गरी कृषि सामाग्री कम्पनीले तत्काल वितरण गर्नुपर्ने नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले बताउनुभयो । पहिलो र्‍याकको २ हजार ५ सय १० टन युरिया मल कृषि सामाग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले आफ्नो गोदाममा भण्डारण गरिसकेको छ ।

प्रायः सबै जिल्लाबाट युरिया मलको माग आए पनि कार्यालयले मल वितरण गर्न नसकेको जनाइएको छ । वीरगञ्जस्थित प्रादेशिक कार्यालय मातहत प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशको समेत गरी डेढ दर्जन जिल्ला रहेका छन् ।

अहिले किसानलाई गहुँ बालीमा छर्न युरिया मलको आवश्यकता रहेको छ । मल आइसक्दा पनि किसानको पहुँचमा नपुग्नु दुःखद भएको किसान संघ पर्साका अध्यक्ष साहको भनाई छ ।

जीटूजीबाट आएको २ हजार ५ सय १० र त्यसअघि मौज्दात ९ सय ९५ गरी ३ हजार ५ सय ५ टन युरिया मल मौज्दात रहेको कृषि सामग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जानकारी दिनुभयो । कम्पनीको केन्द्रीय कार्यालयबाट मल परिचालनको पत्र आउनासाथ वितरण प्रक्रिया अगाडी बढाइने आलोक कुमारले बताउनुभयो ।

किसानलाई गहुँ बालीका लागि युरिया र उखु बालीका लागि डीएपी मलको आवश्यकता रहेको आलोक कुमारले जानकारी दिनुभयो । कृषि सामाग्री कम्पनी लिमिटेड कार्यालय वीरगञ्जमा अहिले ५ सय ६५ टन डीएपी मल मौज्दात रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button