तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्त

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त हुनु भएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

जम्कट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा ९माओवादी केन्द्र०का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए । 

हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित एक सय १० जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

गत मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा ५१ वर्षीय जम्कट्टेल धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट निर्वाचित हुनुभएको थियो ।  विसं २०३० मा धादिङको किरानचोक गाविसमा जन्मिनुभएका जम्कट्टेलले २०४४ साला अखिल छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरुवात गर्नुभएको हो । विसं २०४८ देखि मजदुर आन्दोलनमा सक्रिय उहाँ माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सुरुआतदेखि आबद्ध हुनुहुन्थ्यो । 

विसं २०६० देखि एक दशकसम्म माओवादीको मजदुर सङ्गठनको नेतृत्व सम्हाल्नुभएका जम्कट्टेल २०६३ को अन्तरिम संसद् र २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो ।

विसं २०७४ मा भएको प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री र पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि आर्थिक मामिलामन्त्री हुनुहुन्थ्यो । 

बागमती प्रदेशमा मुख्यमन्त्रीका रुपमा पहिलो कार्यकालमा डोरमणि पौडेल, दोस्रो कार्यकालमा अष्टलक्ष्मी शाक्य र निवर्तमान मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डे हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button