तपाईँ सुन्दै हुनुहुन्छः

सन्धिखर्क नगरपालिकाद्वारा कृषकहरूलाई राहत प्रदान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरूलाई राहत वितरण गरेको छ ।

जस अन्तर्गत नगरपालिकाको वडा नम्बर ५ भित्रका ३० जना कृषकहरूलाई राहत स्वरूप नगद प्रदान गरिएको वडा अध्यक्ष ऋषव अधिकारीले बताउनुभएको हो । 

वडाको मथुरावेशी क्षेत्रमा ५८ रोपनी क्षेत्रफलमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको थियो ।

सोही बमोजिम प्रति रोपनी १५ सयका दरले नगद प्रदान गरिएको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रति किसानले १५ सय देखि ६ हजारसम्म राहत स्वरूप नगद प्राप्त गरेका छन् ।

बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका कृषक वडा कार्यालय मार्फत धानबाली क्षति बापतको रकम बुझेपछि हर्षित भएका छन् । 

नगरपालिका कृषि शाखाले सबै वडा मार्फत क्षतिको विवरण सङ्कलन गरेको थियो । सोही अनुसार सबै वडामा राहत स्वरूप नगद प्रदान गर्ने कार्यक्रम रहेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button