तपाईँ सुन्दै हुनुहुन्छः

३६ वर्ष देखी चुनावी नारामै सीमित नौमुरे जलविद्युत आयोजना

अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत आयोजनालाई यस क्षेत्रका नेताहरूले चुनावी नाराका रूपमा प्रयोग गर्दै आएका छन् । 

तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्वेक्षण गरिएको नेपालकै नमुना नौमुरे जलविद्युत् परियोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा बेवारिसे बनेको छ । 

आउँदो चुनावमा अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट टोपबहादुर रायमाझी र सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिनुभएको छ । उहाँहरू मात्रै होइन, यस क्षेत्रका धेरै नेताले नौमुरे जलविद्युत् आयोजनालाई ३६ बर्ष देखि चुनावी नारा बनाउने गरेका छन् । 

अर्घाखाँचीबाट टोपबहादुर रायमाझी ऊर्जामन्त्री हुनुभयो । उहाँले काम सुरु हुन्छ भन्दै हेलिकप्टरमा चढेर नौमुरेमा पुगी तामझामका साथ शितगंगा नगरपालिका वडा नम्बर ७ लामातालमा नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्नुभयो । कार्यालयमा कर्मचारी पनि भर्ना भए । तर अहिले कार्यालय दश महिना देखि बन्द छ । भर्ना गरिएका केही कर्मचारी अहिले रोजगारीका लागि विदेश पुगेका स्थानीयवासी भगवता झेडीले भन्नुभयो । ‘बजेट नै नआएको कार्यालय खोलेर हामीलाई चुनावमा मात्र प्रयोग गर्न खोजे’, उहाँको गुनासो थियो  । यो आयोजना नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ मात्र बनिरह्यो ।

जुन पार्टीको नेता लामाताल पुगे पनि आफ्नो पार्टीलाई जिताए नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने आश्वासन बाँड्दै आएका छन् । तर सत्तामा पुगेपछि यसतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीयवासी झकबहादुर राउतको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button