तपाईँ सुन्दै हुनुहुन्छः

आलु, मकैको विकल्पमा किवी

भोजपुर । भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।
बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै व्यावसायिक किवी खेतीमा लागेको कृषकहरू बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको भनाइ छ ।
file photo
एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवी खेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुङ्गिन, वडा  नं ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिका लगायत ठाउँमा किसानले किवीको व्यावसायिक खेती गरिरहेका छन् ।
केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिक रूपमा नै यसको खेती भइरहेको छ । नागीका नवीन राईले एक सय ५० भन्दा बढी बिरुवा लगाएर यसको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसायिक खेती भइरहेको कृषक राईले बताउनुभयो ।
आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमै खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको राईले जानकारी दिनुभयो । किवी प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा स्थानीय बजारमा बिक्री गर्दै आएको राईको भनाइ छ ।
नजिकै मध्यपहाडी लोकमार्ग समेत बनिरहेको हुँदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ । ‘‘मैले खेती गर्न थालेपछि अन्य साथीको पनि यसतर्फ आकर्षण बढेको छ । सडकको पहुँच वृद्धि भइरहेको छ । आगामी दिनमा बजारीकरण समेतमा थप सहजता हुने आशा बढेको छ’’, कृषक राईले भन्नुभयो ।
त्यस्तै टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीयवासी एकराज विष्टले पनि किवीको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । विष्टले करिब सात रोपनी क्षेत्रमा गत वर्षबाट किवी खेतीको विस्तार थालेको बताउनुभयो । विष्टले भन्नुभयो, ‘‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको छु । फल लिनको लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्य बालीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किवीको खेतीमा लागेको हुँ ।’’
किवी खेतीबाट सोचेजस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पहिलो पटक खेती विस्तार गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उहाँले बताउनुभयो । कृषक विष्टले भन्नुभयो, ‘‘खास गरेर किवीको बिरुवा हिउँद महिना अर्थात् पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । बिरुवा विस्तार गर्नु पूर्व तीनदेखि चार फिट गहिराई र सोही बराबरको चौडाइमा प्राङ्गारिक मल कुहाएर लगाएमा राम्रो फस्टाउँछ ।’’
उत्पादित किवीको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानको भनाइ छ । ‘‘किवी किसानको आर्थिक अवस्था  सुधारमा टेवा पुर्‍याउने बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहज रुपमा आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने  बिक्री वितरण गर्न खासै समस्या छैन,’’ किसान विष्टले भन्नुभयो ।
स्थानीय कृषक रत्न बहादुर विष्टले भन्नुभयो, ‘‘किवीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि एक सय ५० किलोसम्म फलाउन सकिन्छ । यसबाट वर्षमा चारदेखि पाँच लाख रुपैयाँसम्म कमाउन सकिने युवा बताउँछन् । किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चारसय मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button