तपाईँ सुन्दै हुनुहुन्छः

भंगहा नगरपालिकामा कर्फ्यु 

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
महोत्तरीको भंगहा नगरपालिका ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो । हिन्दू सम्राट् सेनाले निकालेको शोभा यात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा सुरु भएको थियो । त्यसपछि दुई समुदायबीच झडप शुरु भएको स्थानीयको भनाइ छ ।
स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । दुई समूह बिचको झडपमा ५ जना भन्दा बढी घाइते भएका छन् । झडपका क्रममा डिएसपी चन्देश्वर यादवसहित केही प्रहरी समेत घाइते भएका छन् ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले  जानकारी गराए अनुसार हाल अवस्था सामान्य भएको छ । उक्त स्थानमा ४ बजेदेखि कर्फ्यु लगाइएको उहाँले बताउनुभयो । भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button