तपाईँ सुन्दै हुनुहुन्छः

‘देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्त्वपूर्ण योगदान’

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

File Photo

सङ्गीतकार सङ्घ नेपालले विजयादशमीको उपलक्ष्यमा आयोजना गरेको ‘स्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उहाँले खेलाडी र कलाकारले नै देशलाई चिनाउने भए पनि उनीहरूको उचित सम्मान गर्न नसकिएको बताउनुभयो । सर्जकले सिर्जना गर्ने भएकाले उहाँहरूको दक्षता र सोही क्षेत्रको विज्ञताको आधारमा सम्मान हुनुपर्ने मन्त्री गहतराजको भनाइ थियो ।

कार्यक्रममा मन्त्री गहतराजले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, गीतकार किरण खरेल, गायक भक्तराज आचार्य, लोकगायक कुमार बस्नेत र सङ्गीतकार शम्भुजित बाँस्कोटा, गुरूश्री सङ्गीत सम्मान चन्दन श्रेष्ठ र शिवबहादुर सुनाम स्मृति नाग रत्न सङ्गीत पुरस्कार २०७९ सङ्गीतकार अमुल कार्कीलाई प्रदान गर्नुभयो । उहाँहरूलाई दोसल्ला र रु २५ हजारसहित सम्मान गरिएको हो ।

सो अवसरमा गीतकार डा भोला रिजाल, सङ्गीतकार भुपेन्द्र रायमाझी, निर्देशक युवराज लामा, गीतकार प्रमोद ढुङ्गाना, गायक तथा निर्देशक नारायण रायमाझी, देउडा गायक नन्दकृष्ण जोशी, नृत्य निर्देशक कमल राईलगायत सम्मानित हुनुभयो । कार्यक्रममा सङ्गीतकार बाँस्कोटाले सङ्गीत बोर्डको आवश्यकता औँल्याउनुभयो ।

सङ्घका अध्यक्ष चेतन सापकोटाले गीतकार, गायन समाज, उत्पादक सङ्घ, रोयल्टी सङ्कलन समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । “बौद्धिक सम्पत्तिको मौलिक हक संरक्षण र सम्मानजनक सहभागिताका लागि नीतिगत रूपमै अगाडि बढ्ने छौँ । अब हामी झकझकाउने गरी आवाज उठाउने छौँ” अध्यक्ष सापकोटाले भन्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button