तपाईँ सुन्दै हुनुहुन्छः

योजना सर्वे, मूल्याङ्कन र सम्झौतामा जिल्लाकै पहिलो बन्दै तातोपानी गाउँपालिका

जुम्ला । चैत वैशाखमा योजना सम्झौता गर्ने र जेठ असारमा भ्याइ नभ्याई विकास निर्माणका काम गर्ने नेपालमा तिथि नै बसेको छ । पहिलो र दोस्रो चौमासिकमा सिन्को नभाँचेर असारे विकासलाई बढवा दिन प्रदेशदेखि स्थानीय सरकार उद्धत देखिन्छ । 

समयमै योजना सम्झौता, योजना सर्वे, पूर्व अनुगमन तथा मूल्याङ्कन त परै जावस हचुवाका भरमा योजना निर्माण गर्ने प्रवृत्ति छ । जसका कारण पुँजीगत बजेट फ्रिज जाने, काम गरेर पनि भुक्तानी नपाउने, गुणस्तरीय विकास नहुने समस्या छ । 

तर जुम्लाको तातोपानी गाउँपालिकाले कर्णालीकै नमुना पालिकाका रुपमा पहिलो चौमासिकमै योजना, सर्वे अनुगमन, मूल्याङ्कन तथा सम्झौता गरी सक्ने लक्ष्यका साथ काम गरिरहेको छ । जस अन्तर्गत दुर्गम क्षेत्र तातोपानी ७ र ८ का बस्ती बस्तीमा योजना सम्झौताका लागि प्राविधिक टोली खटाइएको छ । 

तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापा भन्नुहुन्छ, “उपभोक्ता पालिकामा आएर योजना सम्झौता गर्न लाग्ने खर्च पनि बच्ने, स्थानीयलाई राहत होस् भनेर भेरीखोला क्षेत्रका गाउँमै पुगेर योजना सम्झौता थालिएको हो । पालिकाका ८ वटै वडाका सबै योजना सम्झौता असोज भित्रै सक्ने गरी काम भइरहेको छ ।”

शनिवारका दिन समेत प्रमुख प्रशासकीय अधिकृतसहित प्राविधिक, योजना फाँटका कर्मचारीहरू कार्यालयमा बसेर योजना सम्झौता काम गरिरहेका छन् । शनिवार सम्मको विवरण अनुसार २ नम्बर वडाका ९ योजना ३ नम्बर वडाका ११  योजना, ८ नम्बर वडाका १९ योजना र ७ नम्बर वडाका ९ योजना सम्झौता भइसकेका छन् ।

त्यस्तै, १ नम्बर वडाका ९ वटा योजना शनिवार नै सम्झौता भइरहेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाँकी वडा नंं.४,५ र ६ का योजना समेत अबको तीन दिनमा सम्झौता सक्ने गरी काम भइरहेको छ । 

गाउँ गाउँमा पुगेको प्राविधिक टोली र कार्यालयमा हाकिम सहितका जनशक्तिले दिनरात शनिवार सम्म नभनी योजना सम्झौता गरिरहेका छन् । यद्यपि, सबै योजनाको सर्वे, मूल्याङ्कन समेत भइसकेको छ । 

बजेट सूत्रमा इन्ट्री र निकासा लिने पनि तातोपानी पहिलो पालिका बनेको छ । प्रमुख गत आ.व.का म्याद थप भएका योजनाहरूको १ करोडभन्दा बढी भुक्तानी दिइएको छ । दशैँ लगत्तै दोस्रो चौमासिक काम धमाधम सञ्चालन गरिने छ । भदौ महिनामै तातोपानीका ८ वटै वडामा उपभोक्ता समिति गठन भइसकेका छन् ।

कार्यसम्पादन सम्झौताको कार्यान्वयन

कार्यसम्पादन सम्झौता बमोजिम कर्मचारीहरूको सक्रियताले असारे विकास अन्त्य गर्ने ढिलोमा वैशाखमा भुक्तानी दिएर सकाउने लक्ष्यका साथ तातोपानीमा योजना, सर्वे, मूल्याङ्कन र सम्झौता धमाधम भइरहेको तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिलो चौमासिकमै सम्झौता सर्वे, मुल्याकंन सकिएपछि ढिलोमा चैत सम्म सबै योजना निर्माण हुने छन् । गुणस्तर मापनका लागि पर्याप्त समय हुने र पुँजीगत खर्च पनि शत प्रतिशत हुने छ । भने समग्रमा असारे विकासको अन्त्य हुने आशा छ । त्यसका खटिने कर्मचारी,व्यवस्थापन र ऊर्जा थप्ने हाकिम धन्यवादका पात्र हुन् ।”

विकास निर्माण र सेवा प्रवाहमा जिल्लाकै नमुना पालिका बन्ने अठोटका साथ कर्मचारी र जनप्रतिनिधिको सहकार्यमा तातोपानीले पृथक् कामहरू गरिरहेको छ । जुन कामहरू अन्य पालिकाले अनुसरण गर्न योग्य छन् । 

तर जुम्लाका अन्य पालिकामा भने अहिले सम्म योजना सम्झौता भन्दा पनि सर्वे,मूल्याङ्कन उपभोक्ता समिति गठन सम्मको सुरसार भएको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button