तपाईँ सुन्दै हुनुहुन्छः

जीर्ण बन्दैछन् झोलुङ्गे पुल

चौतारा। चौतारा–मेलम्ची सडकको निर्माण पूरा भएपछि झ्याडी खोलामा रहेको झोलुङ्गे पुलमा मान्छे हिँड्न छाडेका छन् । मान्छे नहिँड्ने र त्यसको संरक्षण पनि नभएकाले अहिले सो पुलको भग्नावशेष मात्र बाँकी छ ।

सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि झ्याडीखोलाको जस्तै जिल्लाका एक दर्जन झोलुङ्गे पुल ओझेलमा परेका छन् । पक्की पुल बनेपछि मान्छे झोलुङ्गे पुलमा हिँड्न छाड्ने र त्यसको संरक्षण पनि नगर्ने भएकाले पुलको भग्नावशेष मात्र बाँकी रहेको कुञ्चोकका जीवन गिरी बताउनुहुन्छ । एक गाउँबाट अर्को गाउँमा जाँदा खोला र नदी तर्नका लागि सहज बनाउन निर्माण गरिएका त्यस्ता पुल कुनै समय मानिसका लागि यातायात र सञ्चार क्षेत्रमा वरदान सावित भएका थिए। अहिले यातायात र सञ्चारको आधुनिकीकरणसँगै झोलुङ्गे पुलको महत्त्व घटेको छ ।

पहिला–पहिला जिल्लाको पश्चिमी क्षेत्रका अधिकांश जनता हिँडडुल गर्ने सिन्धुखोलाको झोलुङ्गे पुलको भग्नावशेष मात्र बाँकी छ । मेलम्चीमा मोटरबाटो निर्माण हुँदा पक्की पुल बनेपछि यसबाट मान्छे हिँड्न छाडेको र त्यसको संरक्षण पनि नगरिएकाले सो पुल काम नलाग्ने अवस्थामा पुगेको स्थानीयवासी पुरुषोत्तम घोरासैनी बताउनुहुन्छ । तालामाराङ, खाल्डेखोला, शिखरपुरको सहरेखोलालगायत यस क्षेत्रका एक दर्जन जति पुल सडकको विस्तरसँगै उपयोगविहीन बनेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button