तपाईँ सुन्दै हुनुहुन्छः

छोरी जन्माएर परिवार नियोजन गर्नेलाई ५० हजार पुरस्कार

कास्की । पोखरा महानगरपालिका १२ ले छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने भएको छ । नयाँ निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले यो आर्थिक वर्ष वडाको नीति तथा कार्यक्रममा उक्त विषय समेटिएको बताउनुभयो ।

छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई वडाले ५० हजार रुपैयाँको पुरस्कार व्यवस्था गरेको हो । कार्यक्रमको पहिलो वर्षमा कम्तीमा ५ दम्पतीलाई सम्मान गर्ने लक्ष्य वडाको रहेको छ । यसका लागि वडाले साँढे २ लाख रुपैयाँको बजेट विनियोजन गरिसकेको बास्तोलाले बताउनुभयो । यो कार्यक्रम आगामी पाँच वर्षसम्म सञ्चालन गर्ने योजना वडा कार्यालयको रहेको छ ।

छोरीको भ्रूण हत्या रोकिने अपेक्षासहित पुरस्कारको व्यवस्था गरिएको पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । छोरा र छोरीबिचको भेदभावलाई न्यूनीकरण गर्न वडाले अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्न लागको अध्यक्ष बास्तोलाले बताउनुभयो ।

‘अवसर पाए छोरीहरू पनि छोरा जत्तिकै सक्षम हुन सक्छन्, राज्यले छोरीहरूका लागि शिक्षा–स्वास्थ्यमा जस्ता क्षेत्रहरूमा विशेष सहुलियतको व्यवस्था गरिदिनु पर्ने उहाँले बताउनुभयो ।

असल बुहारी सम्मान कार्यक्रम
वडाले सासू–ससुरा पाल्ने असल बुहारी सम्मान कार्यक्रम पनि नीति तथा योजनामा समावेश गरेको छ ।

पछिल्लो समय छोरा छोरीले आफ्ना बाबु आमाको राम्रो हेरचाह नगर्दा धेरै बाबु आमाहरू वृद्धाश्रम जानु परेको भन्दै वडाले असल बुहारी सम्मान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सासू–ससुराको अवस्था र उनीहरुलाई गरिने व्यवहार मूल्याङ्कन गरी बुहारीलाई प्रोत्साहन स्वरूप सम्मान गर्न लागिएको वडाध्यक्ष बास्तोलाले बताउनुभयो ।

कार्यक्रमका लागि ५० हजार रकम छुट्ट्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button