तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा १८ करोड लगानीमा बेकरी उद्योग सञ्चालन

चितवन । भरतपुरमा १८ करोड लगानीमा बेकरी उद्योग सञ्चालनमा आएको छ । नारायणी बेकरी एण्ड फुड इण्डष्ट्रिजले बेकरी उत्पादन सुरु गरेको हो ।

भरतपुर महानगर–२४ अमृतनगरमा ७ जनाको लगानीमा अत्याधुनिक प्रविधि सहितको बेकरी उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योग २०७५ फागुनदेखि निर्माण थालिएको थियो । गत पुसदेखि नै उत्पादन सुरु भएको थियो ।

उद्योगका निर्देशक सुनिल ध्वजुले पहिलो चरणमा क्षमताको १० प्रतिशत उत्पादन गरेर बजारीकरणको अवस्था अध्ययन गरेको बताउनुभयो । उद्योगको क्षमता दैनिक ६ टन रहेको बताउनुभयो । उहाँले खाद्यसम्बन्धी ऐन र मापदण्ड अनुसार उद्योगले बेकरी उत्पादन गरिरहेको बताउनुभयो । यो वर्ष ४५ प्रकारका बेकरी उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उद्योगबाट चकलेट, काजु बदाम, बटर, जिरा अज्वाइन कुकिजहरु, ब्राउन, मिल्क, स्यान्डबिच, स्वीट ब्रेडहरु, बर्गर वन, सफ्ट, क्रिमरोल, क्रान्ची रोल्सहरु, मफिन आदि उत्पादन भएका छन् ।

८ महिनामै चितवन, नवलपुर, भैरहवा, पोखरा, गोर्खा, वीरगन्जसम्म उत्पादनहरू बिक्री वितरण भैसकेको ध्वजुले बताउनुभयो । उहाँका अनुसार देशव्यापी बजारीकरणका लागि यो वर्ष उत्पादनको ब्राण्डिङमा लागिने बताउनुभयो । एन बेकरी ब्रान्डमा उद्योगले उत्पादित बेकरीको बजारीकरण गरिरहेको छ ।

शुद्ध तथा गुणस्तरीय उत्पादन भएकाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन नभएको बताउनुभयो । बेकरीको माग बढेको उहाँको भनाई छ । गुणस्तरीय स्वदेशी उत्पादनलाई उपभोक्ताले रोजाइमा पार्ने उहाँको दाबी छ ।

उद्योगका डिजिटल मार्केटिङका प्रतिनिधि अभिषेक पोखरेल बेकरीहरू ७ दिनदेखि १ वर्षसम्म उपभोग गर्न मिल्ने उत्पादनहरू रहेको बताउनुभयो । गहुँ, कोदो, फापर, जौबाट बनेका बेकरीहरू स्वास्थ्यवर्धक हुने उहाँको भनाई छ ।

चितवनमा ३ दर्जन बढी साना ठुला बेकरी उद्योगहरू सञ्चालनमा छन् । नारायणी बेकरी सबैभन्दा धेरै लगानी भएको उद्योगका रुपमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button