तपाईँ सुन्दै हुनुहुन्छः

सुदूर पहाडमा गौराको चहलपहल बढ्यो

डडेल्धुरा । सुदूरपश्चिमको महान् पर्व गौरा नजिक आउन थालेपछि डडेलधुरासहित सुदूर पहाडी जिल्लामा चहलपहल बढेको छ ।

कामका लागि बाहिर रहेकाहरू समेत घर फर्किने क्रम सुरु भएको स्थानीयहरूले बताएका छन् । गौराको बेला घरपरिवारका सदस्यहरु एकै ठाउँमा जम्मा भएर मनाउने प्रचलन अनुसार घरबाहिर रहेकाहरू घर फर्कने क्रम जारी छ ।

Gaura Parva

गौरा एकादशीपछि पहिला/पहिला गाउँ गाउँमा ठाडो खेल, ढुस्को धमारी लगायतका सांस्कृतिक खेलहरू हुने भए पनि पछिल्लो समयमा भने लोप हुँदै गएका छन् । गौराको समयमा नयाँ लुगा लगाउने, मिठो मसिनो खाने पहिलादेखिकै चलन रहेकाले गाउँघरमा चहलपहल बढ्न थालेको डडेल्धुराको भागेश्वर गाउँपालिका चौडकी स्थानीय कमला बोहराले जानकारी दिनुभयो ।

हरेक वर्ष भाद्र कृष्ण अथवा शुक्ल पक्षको पञ्चमीबाट गौरा पर्वको सुरुवात गर्ने गरिन्छ । कुनै वर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा पर्दछ भने कुनै वर्ष भाद्र कृष्ण पक्षमा पर्दछ । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको छ ।

गौराको समयमा विवाहित महिलाहरूले व्रत उपासना गरेर शिव पार्वतीको पूजाआजा गर्ने चलन रही आएको छ । महेश्वर र गौराको पूजाआजा गरेर गौरा पर्व मनाउने गरिन्छ । व्रतालु महिलाहरूले पञ्चमीदेखि दुर्वाष्टमी अर्थात् अठ्यावाली सम्म गौराको पूजा गर्ने गर्दछन् ।

सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी लगायतका पहाडी जिल्लामा गौरा पर्व मनाउने चलन रहिआएको छ ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायका नागरिकहरूले पनि गौरा मनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button