तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दास: गुठी संस्थान

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव नै रहेको गुठी संस्थानको जनकपुरधाम स्थित कार्यालयले जनाएको छ ।

केही दिनअघि जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दासको परिचय पत्र फर्जी रहेको र मन्दिरमा अनियमितता गर्दै आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि गुठी संस्थानले उत्तराधिकारीको विषयमा स्पष्ट पारेको हो ।

उत्तराधिकारी महन्थ दासको विषयमा रामनारायण दासले उजुरी दिएका थिए । सो उजुरीबारे गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठ रेग्मीले गुठी संस्थानले नै रामरोशन दासलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त गरेको स्पष्ट पार्नुभएको छ ।

रामरोशन दासलाई २०७८ सालमै गुठी संस्थानको सञ्चालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्थमा नियुक्त गरिएको कार्यालय प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

गुठी संस्थानको सञ्चालक समितिको २०७८ वैशाख १५ गते बसेको बैठकबाट पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा १० को उपदफा २ मा उत्तराधिकारी महन्थको रुपमा उहाँलाई तोकिएको हो र सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १० को उपदफा १ र २ अनुसार रामरोशनलाई उत्तराधिकारी महन्थमा नियुक्त गरिएको गुठी संस्थानको पत्रमा उल्लेख छ ।

मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार प्रमुख महन्थलाई मात्रै हुन्छ भन्दै कार्यालय प्रमुख रेग्मीले उत्तराधिकारी महन्थले आर्थिक हिनामिना गर्नसक्ने कुनै सम्भावना नै नरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button