तपाईँ सुन्दै हुनुहुन्छः

व्यक्तिवादी सोचबाट मुक्त हुन प्रवक्ता महतको आग्रह

नुवाकोट । नेपाली काँग्रेसमा प्रवक्ता डा.प्रकाश शरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले सो सोचबाट मुक्त हुन आग्रह गर्नुभएको छ । 

बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५ औँ वार्षिकोत्सव, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा आज उहाँले म भए ठिक अरू भए बेठीक भन्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

 डा महतले पार्टीको कार्यकर्ता भइसकेपछि व्यक्तिवादी सोचबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ हालै भएको स्थानीय तह निर्वाचनमा व्यक्तिवादी सोचको कारण पार्टीले क्षति बेहोरेको छ । अब सङ्घ प्रदेशको निर्वाचन आउँदै छ । पार्टीलाई सफल बनाउन व्यक्तिवादी सोचबाट मुक्त हुनै पर्छ ।” 

पूर्व मन्त्रीसमेत रहेका प्रवक्ता डा महतले कसैलाई देउता र कसैलाई दैत्य बनाइदिने अहिलेको प्रचलनबाट पनि जोगिनुपर्ने बताउनुभयो । “कसैलाई क्षणभरमै देउवा बनाइन्छ । त्यसको आलोचनासमेत गर्न पाइँदैन । कसैलाई अनायासै दैत्य बनाइन्छ । न कोही देउता हुन्छ, न दैत्य । सत्य खोज्ने धैर्यता हामीमा छैन”, डा महतले भन्नुभयो “यस्तो अहिलेको प्रचलनबाट जोगिनुपर्छ ।”

उहाँले रासायनिक मलमा अरू देशप्रति निर्भर हुँदा अहिले अभावको समस्या आइरहेको बताउनुभयो । उहाँले सरकारले अब रासायनिक मल कारखानाको स्थापना गर्नमा ढिलो गर्न नहुनेसमेत बताउनुभयो । 

डा महतले प्राकृतिक खेती गर्ने र गाईबस्तुको थोरै मलबाट धेरै जग्गामा रासायनिक मलसरह काम गर्ने प्रविधि पनि विदेशतिर रहेकाले त्यसलाई प्रयोग गर्न सकेमा रासायनिक मलको अभाव झेल्न नपर्ने बताउनुभयो । कार्यक्रममा डा महतले विभिन्न स्रष्टालाई सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले लेख्नुभएको समयचक्र हाइकु सङ्ग्रह विमोचनसमेत गरिएको थियो ।

कार्यक्रममा अमृता स्मृति, कविन्द्र घिमिरे, अकिन्चन राई, बुनु लामिछाने, अन्जना पौडेललगायतले रचना वाचन गर्नुभएको थियो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button