तपाईँ सुन्दै हुनुहुन्छः

तारा एयरको जहाज दुर्घटनामा परेका सात जनाको स्वयम्भूमा अन्त्येष्टि

काठमाडौँ ।प्रतिकूल मौसमका कारण यही जेठ १५ गते आइतबार तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका सात जनाको बिहिवारअन्त्येष्टि गरिएको छ । आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी एकै परिवारका सात जना धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।

आज शवको परीक्षण सकिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरे लगत्तै मृतकको अन्तिम संस्कार काठमाडौँको स्वयम्भूमा गरिएको हो । अन्तिम संस्कारमा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पुग्नु भई पार्टीका धनुषा जिल्ला कमिटीका सदस्यसमेत रहनुभएका राजन गोलेको शवमा पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका अनुसार अन्य शवको परीक्षण कार्य सकी शव आफन्तलाई हस्तान्तरण गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button