तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्घात गरेको भन्दै पूर्व नगरप्रमुखलाई माओवादीले गर्‍यो कारबाहीको सिफारिस

सल्यान । नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारवाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कारबाहीका लागि जिल्ला समन्वय समिति मार्फत प्रदेश कमिटीमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले पार्टीले अघि सारेका उम्मेदवार हराउन नगरपालिकाका सबै वडामा सबै किसिमका योजनामा सहभागी भएको पाइएकाले लोकमान बुढाथोकीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपा (माओवादी केन्द्र) बागचौरले जनाएको छ । स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट अघि सारिएका उम्मेदवार हराउन संलग्न रहेको प्रमाणसमेत भेटिएको निर्णयमा उल्लेख छ ।

नेकपा माओवादी बागचौर नगर समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति अध्यक्ष शोभाराम भण्डारीले बताउनुभयो । उहाँले आफूहरूको जनधार बलियो भएको भएपनि पूर्व नगरप्रमुख प्रदेश कमिटी सदस्य समेत रहेका लोकमान बुढाथोकीले योजनाबद्ध रुपमा सबै वडामा पाटीका आधिकारी उम्मेदवार हराउन लागेकोले पराजय हुनु परेको बताउनुभयो । उहाँले भन्नुभयो जनताले माओवादीलाई विश्वास गरेको भएपनि लोकमान बुढाथोकीले सबै वडामा आ आफ्नो शक्ति परिचालन गरेर चुनावको नतिजा विपक्षमा गएको हो ।

नेकपा माओवादी बागचौर नगर कमिटीको बैठकले नगर समिति सदस्य डिल्ली वलीलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको जनाएको छ । यस्तै सबै वडा पार्टीका उम्मेदवार हराउन सहभागी हुनेहरूको विषयलाई छानबिन गर्न नगर उपाध्यक्ष मोहन बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको जनाएको छ । समितिका सदस्यहरूमा मदन बस्नेत, पूर्णबहादुर वटाला,ईन्द्रवहादुर भण्डारी, नोखिराम बस्नेत ,धनेन्द्र विमल वली रहनुभएको छ । समितिले वडामा भएको अन्तर्घात र संलग्नको छानबिन गरी कारबाहीका लागि समितिमा सिफारिस गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button