तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ६ दिन देखि फोहोर उठ्न सकेन 

कास्की । पोखरा उपत्यकामा ६ दिन देखि फोहोर उठ्न सकेको छैन । पोखरा शहर  यति बेला दुर्गन्धित भएको छ । फोहोरमैला व्यवस्थापन हुने ल्यान्डफिल साइटका बासिन्दा आन्दोलित हुँदा महानगरभित्रको फोहोर उठ्न सकेको छैन । आन्दोलनरत पोखरा १४ का स्थानीयले महानगरसँग ७ बुँदे माग राख्दै सडक अवरुद्ध गरेपछि फोहोरमैला व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

स्थानीयले फोहोरमैला लैजाने बाटो रोकेपछि ६ दिनदेखि फोहोर सडक किनारमै थुप्रिएको छ । सडक पेटीमा हिँड्ने पैदल यात्री नाक मुख छोपी हिँड्न बाध्य भएका छन् । कुहिएको फोहोरबाट निस्केको गन्धले रोग फैलन सक्ने सम्भावना पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन् । 

फोहोर व्यवस्थापनमा अन्योल हुँदा पोखराका मुख्य चोक महेन्द्रपुल, चिप्लेढुंगा, भैरव टोल, बगर, न्युरोड, नयाँ बजार, हस्पिटल, अमरसिंह चोक, लेकसाइड आदिमा दुर्गन्ध फैलाएको छ । महानगरपालिकाले आफूहरूसँग वार्ता नगरको सङ्घर्ष समिति अध्यक्ष बोधराज कार्कीको आरोप रहेको छ ।  

‘शुक्रवार वार्ता भएको थियो तर उहाँहरूले अधिकार ल्याउनुभएको रहेनछ । अधिकार लिएर वार्तामा आउनुपर्‍यो । शनिबार कास्कीका सिडिओसँग कुरा भएको थियो । वार्ताको टेबलमा बस्न हामी तयार छौँ,’ उहाँले भन्नुभयो ।  

पोखरा १४ मा स्वास्थ्य ल्याबसहितको सहरी स्वास्थ्य चौकी बनाउन ‘दाह संस्कारका लागि आवश्यक घाट निर्माण, सडक र पोखरा १४ र पोखरा २१ निर्मलपोखरी जोड्ने पुलको माग स्थानीयले राखेका छन् ।  

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आन्दोलनरत पक्षले अत्तो थाप्ने काम गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो , ‘महानगर वार्ताका लागि बस छ  । तर उहाँहरू वार्ता गर्न तयार देखिनु हुन्न । बाटोमा बसेर वार्ता हुँदैन । त्यसमाथि महानगर प्रमुख बिरामी हुनुहुन्छ ।’

६ दिन फोहोर नउठ्दा महानगरपालिकामा ६ सय टन फोहोर थुप्रिएको सरसफाइ महाशाखा प्रमुख कल्पना बराल बताउनु हुन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button