तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था सेवा कार्यालय, चितवनबाट पांँच महिनामा सांँढे ३१ करोड संकलन

यातायात व्यवस्था सेवा कार्यालय, चितवनबाट पाँच महिनामा साँढे ३१ करोड सङ्कलन  

सूर्यप्रसाद अधिकारी 

चितवन । चालु आर्थिक बर्ष २०७८/७९ को पाँच महिनामा यातायात व्यवस्था सेवा कार्यालय, चितवनले झन्डै साँढे ३१ करोड राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले दिएको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म ३१ करोड ४८ लाख ६६ हजार ६२० रुपैंया राजस्व सङ्कलन गरेको हो  । 

कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताब सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ । 

कार्यालयले यो पाँच महिनाको अवधिमा सबैभन्दा बढी राजस्व सङ्कलन साउनमा गरेको छ भने कम भदौमा गरेको छ । 

कार्यालयका अनुसार साउन महिनामा ७ करोड ७९ लाख ५ हजार ९३० रुपैंया र भदौ महिनामा ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैंया राजश्व सङ्कलन गरेको हो । 

यस्तै असोज महिनामा ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैंया, कार्तिक महिनामा ६ करोड ५२ लाख १ हजार २४८ रुपैंया  र मङ्सिर ६ करोड ९७ लाख ९६ हजार ७७९ रुपैंया राजश्व सङ्कलन गरेको हो । 

कार्यालय प्रमुख विनोद पौडेलले आर्थिक वर्षको अन्तिममा राजश्व तिर्न तथा नवीकरण गर्न  छुटेका सवारी धनीहरूले साउन महिनामा कर तिर्न आउने हुनाले स्वाभाविक रुपमा साउन महिनामा बढी आम्दानी हुने गरेको बताउनुभयो  । 

“चैत्र, असार, साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महिनाभन्दा बढी राजश्व सङ्कलन हुन्छ” पौडेलले भन्नुभयो, “भदौ महिनामा १० दिन लगातार निषेधाज्ञा भएकोले कम राजश्व सङ्कलन भएको हो ।” 

कार्यालयले यस वर्षमा ६५ करोड भन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।  “पाँच महिनामै हाम्रो आम्दानी ३१ करोड नाघेको छ” , उहाँले भन्नुभयो , “अहिले चालक अनुमति पत्र नवीकरणबाट पनि थप आम्दानी भएको छ । लक्ष्य भन्दा बढी नै सङ्कलन हुन्छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button