तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सुन्तलाको उत्पादकत्वसँगै उत्पादनमा कमी

चितवन । चितवनमा पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाका सुन्तला पकेट क्षेत्र र ब्लकका क्षेत्रहरूमा पछिल्ला वर्षहरूमा सुन्तलाको उत्पादन घट्दै गएको छ । 

कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्ला वर्षहरूमा भन्दा यो बर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको हो । 

चितवनको पहाडी क्षेत्र ईच्छाकामना गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ मा किसानहरूले सुन्तला खेती गर्दै आएका छन् । 

गाउँपालिकाको तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिबहादुर नेपालले केही वर्षयता सुन्तलाका बोट मर्न थालेसँगै उत्पादनमा ह्रास हुँदै गएको बताउनुभयो  । 

“कहिले असिना र हावापानीले  फूल झारेर पूर्ण रुपमा फल लाग्दैन  उहाँले भन्नुभयो , कहिले फल्ने र पाक्ने बेलामा रोग लागेर उत्पादन हुँदैन  ।” 

यहाँको स्थानीय जातको सुन्तलाको माग र फाइदा राम्रै भए पनि वर्षैपिच्छे उत्पादन घटिरहेको उहाँको भनाई छ । राम्रै हावापानी र मल बीउको व्यवस्थापन गर्दा पनि बोट सुक्ने, पहेँलो हुँदै गएका कारण उत्पादन हुन नसकेको उहाँले बताउनुभयो  । 

अघिल्लो बर्ष झन्डै प्रति हेक्टर ८ दशमलव ८ टनको हाराहारीमा उत्पादन घटेको र अहिले पनि प्रति हेक्टर ८ टनले उत्पादनमा ह्रास आएको ज्ञान केन्द्रले जनाएको छ । 

ज्ञान केन्द्रका अनुसार उक्त गाउँपालिकामा सुन्तला खेती योग्य जमिन २५० हेक्टर भए पनि करिब १२५ मा मात्रै सुन्तला खेती हुँदै आएको छ । सुरुवाती क्षणमा सुन्तलाको उत्पादन र उत्पादकत्व वृद्धि भए पनि पछिल्ला वर्षहरूमा यसको उत्पादन घट्दो क्रममा छ । 

ज्ञान केन्द्रका सूचना अधिकारी मीन बहादुर पुनले यो बर्ष  प्रति हेक्टर ८ टनले सुन्तला उत्पादनमा ह्रास आएको जानकारी दिनुभयो । “उत्पादनमा मात्र होइन प्रति हेक्टर उत्पादकत्वमा पनि ह्रास आएको छ ।” सूचना अधिकारी पुनले भन्नुभयो  । 

उहाँका अनुसार सुन्तलाको बोट पुरानो हुँदै जानु, किसानमा बगैँचा व्यवस्थापनको ज्ञानको कमी, सिँचाइको अभाव लगायत निषेधाज्ञाका कारण सुन्तला ब्लक कार्यक्रमलाई प्रवर्द्धन गर्न नसकिएका कारण पनि उत्पादनमा ह्रास आएको हो । 

“यी उल्लेखित प्रमुख कारण हुन नै उहाँले भन्नुभयो, सुन्तला उत्पादनलाई प्रवर्द्धन गर्न राज्यको ध्यान नपुगेको र गाउँपालिकाले कुनै पनि बजेट विनियोजन नगरेकोले पनि यो समस्या आएको हो ।” 

एउटै प्रकारको फलफूल बिरुवा कलमी नगरी लगाउँदा उत्पादन घट्ने र रोगको जोखिम पनि उत्तिकै हुने पुनको भनाई छ । 

कृषि विज्ञका अनुसार कुनै पनि अन्नबाली तथा बागबानीमा एक प्रकारको बीउको प्रयोग र एकै बाली नियमित रुपमा रोप्दा त्यसले अपेक्षित उत्पादन दिन सक्दैन । 

१ देखि २ वर्षको फरक पारेर कलमी गरेको फलफूलको बिरुवा प्रतिस्थापन गर्दा उत्पादन पनि बढ्ने र रोग पनि कम लाग्ने गरेको उनीहरूको भनाई छ । 

कृषि ज्ञान केन्द्रले इच्छाकामनाको वडा नम्बर ५ मा रहेको तामिन क्षेत्र, वडा नम्बर २ मा रहेको तल्लो काउले क्षेत्र, ३ नं वडामा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको थियो । यहाँ सबै पकेट क्षेत्रलाई मिलाएर झन्डै सय हेक्टरलाई ज्ञान केन्द्रले सुन्तलाको ब्लक क्षेत्र घोषणा गरेको छ । 

इच्छाकामनाको वडा नम्बर  ३ मा सबैभन्दा बढी सुन्तला खेती गरिएको छ । यहाँ एक सय बढी बिघामा सुन्तला खेती गरिएको अनुमान छ । 

यसैगरी, वडा नम्बर ५ मा ५० बिघामा, वडा नम्बर २ मा करिब ३० बिघा बढीमा सुन्तला खेती गरिएको  छ । 

यहाँ उत्पादन भएका सुन्तला रसिलो र स्वादिलो हुने गरेकोले पनि यसको माग उत्तिकै छ ।  विशेष गरी मुग्लिन बजार, पोखरा एवं काठमाडौँमा बिक्री हुने गर्दछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button