तपाईँ सुन्दै हुनुहुन्छः

मुगु बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

मुगु ।  मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका छन् ।

नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायानाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिनुभयो । 

प्रहरीले चालकतर्फको टायर पन्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । 

नेपालगन्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए । 

घाइतेहरूलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगन्ज पुर्‍याइएको थियो । घाइतेहरूको बाँकेको कोहलपुर र नेपालगन्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

मृतकहरू मुगुको गमगढी, छायानाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घटना लगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिनुभएको थियो । 

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताउनुभयो । उहाँका अनुसार हाल १३ जना उपचाररत छन् । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button