तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिमाणमा लागु औषधसहित चार जना पक्राउ

बीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा रहेको अवैध लागु औषधसहित चार जनालाई आज पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय श्रीपुर बीरगंजबाट खटिएको टोलीले आज अपराह्न ३ः०० बजे   वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कमा शङ्कास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा वीरगंज–९ रामटोल निवासी ४५ वर्षीय जितेश प्रसाद श्रीवास्तवलाई चेकजाँच गर्दा निजले बोकेको झोलामा सय एमएलको २ सय ३१ बोतल अवैध लागु औषध ओनिरेक्स बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

त्यसैगरी प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेट नजिकैबाट काठमाडौँ महानगरपालिका वडा नम्बर ४ सितापाईला बस्ने ३२ वर्षीय विमल श्रेष्ठ, हेटाँैडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २१ वर्षीय डेनियल तामाङलाई ना४१प ६८४४ नम्बरको स्कुटरको डिकीमा लुकाई रक्सौलबाट अवैध लागु औषध नुर्फिन, डाईजोपाम, फेनार्गन, ९० एमपुल ल्याइरहेको अवस्थामा पक्राउ गरेको डिएसपी खनालले बताउनुभयो । 

यसैगरी आजै वीरगंज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोकबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय विकास देउलालाई ना.२३ प २५६५ नम्बरको स्कुटरको डिकीमा लुकाइछिपाई रक्सौलबाट ल्याइरहेको अवस्थामा अवैध लागु औषध कोडेन फास्फोट १०० एमएल को ३३ बोतल, नाईट्राभेट ७५ ट्याब्लेट र स्पेकोरभोन प्लस ८ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका चारै जनालाई अवैध लागु औषध सम्बन्धी कसुरमा प्रहरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button