तपाईँ सुन्दै हुनुहुन्छः

मोदीबेनी जाने सडक पहिरोले अवरुद्ध

पर्वत । पर्वतको बडागाउँबाट मोदीबेनीघाट जाने सडक पहिरोले अवरुद्ध भएको छ । लास बोकेर घाटसम्म जाने मलामीहरू, साउने सोमवार स्नान गर्न सवारीसाधन लिएर जाने धार्मिक आस्थावान् व्यक्तिहरू मोदीबेनी घाटसम्म जान सकेका छैन । 

विगत एक हप्तादेखि उक्त सडक पहिरोले रोकिएको छ । वडाध्यक्ष चित्रकला शर्माका अनुसार तीन स्थानमा पहिरोले बाटो रोकिएको छ । सडक खुलाउन नसक्दा मोदीबेनी धार्मिक स्थलमा स्नान तथा पूजाआजाका लागि आउने भक्तजन र दक्षिणी पर्वतको यात्रामा जाने यात्रुहरूलाई समस्या भएको शर्माले बताउनुभयो । 

मोदीबेनी धार्मिक विकास संस्थाका अध्यक्ष केशवदास वैरागीले सम्बन्धित निकायले चाँडो पहिरो पन्छाएर सडक खुलाउन अनुरोध गर्नुभएको छ । यो सडक मर्मत गरेमा फलेवासको मुडिकुवा निस्केर दक्षिण क्षेत्रमा जाने सवारी साधनहरूलाई सहज हुने छ । दोबिल्ला बाट घुमाउरो बाटो प्रयोग गरेर जाने सवारी साधनहरू मोदीबेनी बाट निस्कन सके करिब १ घण्टाको समय बचत हुन्छ । 

मोदीबेनीमा मोदीखोला माथि १५ करोड खर्च गरेर कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयले पुल बनाएको छ । पुल बनेपछि केही समय यो सडकबाट दक्षिण क्षेत्र जाने सवारी साधनहरू सञ्चालन भए पनि पहिरोले बाटो रोकिएपछि जान सकेका छैनन् । अध्यक्ष वैरागीले सडक तत्काल खुलाउन आवश्यक रहेको बताउनुभयो । पहिरो पन्छाएर सडक खुलाउन कुश्मा नगरपालिकामा अनुरोध गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button