तपाईँ सुन्दै हुनुहुन्छः

‘१२ को परीक्षा स्थगित गर्ने निर्णय भएको छैन’

file photo

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बोर्ड परीक्षाको तैयारीमा निरन्तर लागिरहेको बताउनुभयो ।


उहाँले परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले सङ्क्रमणका कारण जोखिम बढेर अप्ठ्यारै अवस्था आए अलग कुरा नभए परीक्षा नसर्ने बताउनुभयो । 


यसबारे अहिले नै निर्णय गर्न नसकिने बताउँदै सदस्य सचिव अर्यालले तत्काल परीक्षा अर्को विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल भैनसकेको बताउनुभयो ।


परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने ? भन्ने विषयमा मन्त्रालयबाट कुनै जानकारी नआएको उहाँले बताउनुभयो । अर्यालले विद्यार्थीलाई अन्यौलता नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गर्नुभयो ।


बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । 


स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा स्थगित हुनसक्ने अभिव्यक्ति दिनुभएपछि परीक्षा पूर्व प्रकाशित तालिका बमोजिम हुने नहुने अन्योल भएको थियो ।


राज्यमन्त्री श्रेष्ठले हिजो सोमबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को मात्र नभई विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित हुनसक्ने बताउनुभएको थियो ।


दिनदिनै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि परीक्षा कसरी सञ्चालन हुन्छ भन्ने विषयमा अन्योल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरेको छ । मन्त्रालयले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को के गर्ने ? भन्ने विषयमा छलफल भने सुरु गरेको बताइएको छ । मन्त्रालयले परीक्षा भर्चुअल माध्यमबाट गर्न सकिन्छ कि भन्ने बारेमा पनि छलफल अघि बढाइसकेको बुझिएको छ ।


तर, भौतिक रुपमा परीक्षा सञ्चालन गर्दा कोभिडको जोखिम खतरा हुने र भर्चुअल वा अन्य वैकल्पिक विधिबाट परीक्षा गर्न सञ्चालन गर्न यथास्थितिमा अप्ठ्यारो हुने शिक्षाविद्को तर्क छ । 


आन्तरिक मूल्याङ्कनबाट परीक्षा सञ्चालन गर्न पनि छलफल सुरु गर्ने राज्यमन्त्री श्रेष्ठको भनाई छ ।


तर तोकिएको परीक्षा स्थगित गर्नु परे मन्त्री परिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । सीसीएमसीको निर्देशन अनुसार नै होम सेन्टर कायम गरी परीक्षा लिने तयारी भइरहेको छ ।


राज्यमन्त्री श्रेष्ठले सरकारले परीक्षा अगावै सबै परीक्षार्थीलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिरहेको जानकारी गराउनुभएको थियो । 
पछिल्लो समय दैनिक ३ हजार हाराहारीको कोभिड संक्रमित फेला पर्न थालेपछि परीक्षा लगायत अन्य गतिविधि गर्न दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन । 


कक्षा १२ परीक्षा यही साउन ३१ गते देखि भदौ ९ सम्म हुदैछ भने ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button