तपाईँ सुन्दै हुनुहुन्छः

यौनजन्य दुर्व्यावहार विरुद्ध प्रहरीको विशेष अभियान शुरु

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लामा यौनजन्य दुर्व्यावहार विरुद्धको विशेष अभियानको थालनी गरेको छ ।

बाँके प्रहरीले सोमबारदेखि यौनजन्य दुर्व्यावहार विरुद्धको अर्को विशेष अभियानको थालनी गरेको हो । सरोकारवालाहरुको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रमबाट नेपालगन्जमा सोमबार उक्त विशेष अभियान जिल्लामा सुरुवात गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक रानाले घर, समाज, सार्वजनिक स्थल, सार्वजनिक सवारी साधन लगायतका स्थानहरुमा महिला तथा बालबालिकाहरु माथि हुने र गरिने यौनजन्य दुर्व्यावहार विरुद्ध बाँके प्रहरी कडा रुपले प्रस्तुत हुने बताउनुभयो ।

‘हिंसा तथा दुर्व्यावहार सहेर बस्नु भनेको पीडकलाई प्रोत्साहन गर्नु हो, यौनजन्य दुर्व्यावहार हुनासाथ प्रहरीलाई तुरुन्त खबर गर्नुहोस, प्रतिकार गर्नुहोस, हामी कारबाही गर्छौं ।’ – एसपी रानाले भन्नुभयो ।

महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यावहार कानूनद्वारा वर्जित अपराध भएता पनि कतिपयलाई सो सम्बन्धमा कानूनी ज्ञान नहुनु, कतिपयले डर, सामाजिक प्रतिष्ठा, लाज तथा असहजता महसुस गरी आफूमाथि भइरहेको दुर्व्यावहार विरुद्ध कुनै कदम नचाल्दा तथा कुनै प्रतिक्रिया नजनाउँदा समाजमा त्यस किसिमका गतिविधिहरु गर्ने व्यक्तिहरुको अपराधिक मनोबल बढ्ने हुँदा त्यसका विरुद्ध सबैजना लागेर मात्र समाजबाट त्यस्तो प्रवृतिलाई हटाउन सकिने एसपी रानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button