तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी

राज्यव्यवस्था तथा सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले आज जानकारी गराएको छ ।

निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

सबै मतपत्र र मतदाता परिचयपत्र सम्वन्धीत प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जानकारी गराउदै प्रमुख थपलीयाले प्रचार प्रसारपछिको मौन अवधिको पूर्ण पालनाका लागि आयोगले विशेष ध्यान पुर्याउने बताउनुभयो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी रहेको हुँदा मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन पाउने वातावरण सुनिश्चत भएको बताउनुभयो ।

त्यस अवसरमा साँसदहरुले निर्वाचन आचार संहिताको कडाईका साथ पालना भए नभएको प्रभावकारी अनुगमनको व्यवस्था गर्न, मतदान स्थलमै मत गणनाको व्यवस्था गर्न, निर्वाचनलाई प्रविधिमैत्री बनाउन, निर्वाचनलाई कम खर्चिलो तुल्याउन, नक्कली मतदाताबाट हुन सक्ने मतदानप्रति सचेत रहन तथा मौनअवधिमा हुन सक्ने अनेकौ आर्थिक चलखेललाई रोक्न आयोगलाई चनाखो रहन सुझाव दिनुभयो ।

समितिका सभापति शशी श्रेष्ठले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउने सवालमा समितिको सधै सहयोग र समर्थन रहने जानकारी गराउदै निर्वाचलाई मितव्ययी बनाउन, समितिको निर्देशन कार्यान्वयन गर्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणको सुनिश्चित गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button