तपाईँ सुन्दै हुनुहुन्छः

सूर्योदय नगर पर्यटन महोत्सव हुदैँ

 इलाम – पर्यटकीय नगरी सुर्योदय नगरपालिकमा आगामी मंसीर १४ गतेदेखि ५ दिने सूर्योदय नगर पर्यटन महोत्सव हुने भएको छ । भ्रमण बर्ष २०२० लाई सघाउ पुर्याउन र नगरको पर्यटन प्रवद्धन गर्नको नगरपालिकाको आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सव आयोजना गर्न सुर्योदयनगरपालिका उप्रमुख दुर्गा देबी भट्टराइको संयोजकत्वमा ५१ सदस्यीय मुल समिति गठन भएको छ भने विभिन्न उपसमितिहरु बनाइएको छ ।

देशकै पर्यटकीय गन्तब्यको सुचीमा रहेको सूर्योदय नगरपालिकाको कन्यामसहित सुर्योदय दृष्यावलोकनको लागि प्रसिद्ध श्रीअन्तु, फिक्कल, सीमावर्ती बजार पशुपतिनगर , करफोक र गोर्खेको थुम्केमा महोत्सव सञ्चालन हुनेछ । नगरको छ स्थानमा हुन लागेको कार्यक्रममा फरक फरक किसिमको प्रदर्शनी हुने जनाइएको छ ।

लोपहुन लागेको भाषा, संस्कृति ,स्थानीय परिकार , स्थानीय उत्पादन , चिया , कृषि, दुग्धजन्य लगायतका बस्तुहरुको प्रदर्शनी महोत्सवमा राखिने उप्रमुख तथा आयोजक समिति संयोजक दुर्गा देबी भट्टराइले बताउनुभयो ।

महोत्सवमा पर्यटकीय गन्तब्यबारे प्रचारप्रसार गरिने संयोजक भट्टराइले बताउनुभयो । महोत्सव बाट दीर्घकालीन रुपमा नगरको पर्यटन प्रबद्धन गर्न सकिने अपेक्षा समेत रहेको भट्टराइको भनाइ छ ।

सूर्योदय नगरपालिकामै पर्ने सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै चर्चित स्थल वडा नम्बर ४ र ५ स्थित अन्तुडाँडामा सुर्य पुजा र सुर्योदयको दृष्यवलोकनसँगै मंसिर १४ गते महोत्सवको उदघाटन गरिने भएको छ । सोही दिन अन्तु परिसरमा विशेष कार्यक्रम गरिने उदघाटन समिति संयोजक धरनी घिमिरेले बताउनुभयो । अरु दिन चर्चित पर्यटकीय स्थल वडा नम्बर ७ को कन्याम चियाबगान, वडा नम्बर २ र ३ को पशुपतिनगर, वडा नम्बर १ को गोर्खे, १० को फिक्कल, ११ को करफोकमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।

नगरमा हुन लागेको महोत्सवबाट पर्यटकीय गन्तव्यको प्रचारपसार सँगै पर्यटक आवागमन बढ्न सक्ने सम्भावना भएकोले यसबाट जिल्लाकै पर्यटनमा टेवा पुग्ने सुर्योदय होटल एसोसिएशनका अध्यक्ष अभिशेक श्रेष्ठले बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा सुर्र्योदय नगरको पर्यटनको प्रचार हुन सक्ने श्रेष्ठको भनाइ छ ।

महोत्सवका लागि नगरपालिकाले २५ लाख रुपैयाँ खर्च गर्नेछ भने संघीय र प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित अन्य निकायहरूमा सहयोग माग गर्न लागिएको छ ।महोत्सवले स्थानी उत्पादन , भाषा सस्कृति सुर्योदय नगरपालिकाको समग्र पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आयोजकको अपेक्षा छ । महोत्वसवका बेला पाँचलाख पर्यटक आउने आयोजकको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button