तपाईँ सुन्दै हुनुहुन्छः

इँटा उद्योग हटाउने नगरप्रमुखलाई ‘धन्यवाद’

 काभे्रपलाञ्चोक, २१ भदौ –आफ्नो क्षेत्रमा अवस्थित इँटा उद्योग हटाउने अभियानअन्तर्गत आठ वटा उद्योगको भट्टाचिम्नी भत्काउने नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनालाई स्थानीयले कार्यक्रमको आयोजना गरी विशेष धन्यवाद दिएका छन् ।

यहाँका ४५ सामाजिक संस्था तथा स्थानीयवासीले नागरिकको जीवनस्तर सुधारसँग जोडिएका विकास निर्माणको काम गर्न एक्यबद्धता जनाएको उल्लेख गर्दै कार्यक्रममा धन्यवाद दिएका हुन् । नमोबुद्ध नपालाई धुँवामुक्त बनाएकोमा खुशी हुँदै वातावरणमैत्री उद्योग स्थापनाका लागि नगरपालिकाले पहल गरिदिन पनि उनीहरुले ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् ।

“हिम्मतका साथ नगरप्रमुख वातावरण स्वच्छ बनाउने प्रक्रियामा लाग्नुभएको छ, त्यसैले हामीले उहाँलाई विशेष धन्यवाद दिएका हौँ”, राष्ट्रिय कृषक समूहका अध्यक्ष उद्धवप्रसाद हुमागाईंले भन्नुभयो । नगरले यही भदौ ८ गते वडा नम्बर २ र ३ मा सञ्चालन हुँदै आएका आठ वटा इँटा उद्योगको भट्टाचिम्नी मेशिन (क्रेन)को प्रयोग गरी भत्काएको थियो ।

नगरप्रमुख तिमल्सिनाले इँटा उद्योगका कारण नपामा आएका करोडौँको योजना फर्किएको स्मरण गर्दै इँटा उद्योग हटाउने प्रक्रियामा लागेसँगै हाल स्टाफ कलेज स्थापनार्थ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै गरेको र अर्को रु तीन करोडको एक योजना आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगर समद्ध हुने ढोका खुलेको छ, यसमा सबै नगरवासीले खुशियाली मनाउनुपर्छ ।”

नपा कर्यालयले यसअघि असार मसान्तसम्ममा आफ्नो क्षेत्रमा सञ्चालन हुँदैआएका इँटा उद्योग विगतमा भएको सहमति अनुरुप हटाउन निर्देशन दिएको थियो । गतसाउन पहिलो साता पनि पुनः भकुण्डे क्षेत्रमा अवस्थित आठ वटा इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न नपाले पत्रमार्फत निर्देशन दिएको थियो । असार मसान्तसम्ममा सहमति कार्यान्वयन नभएपछि नपा आफैँले इँटा उद्योग हटाउने प्रक्रियाअन्तर्गत उद्योगको भट्टाचिम्नी भत्काएको हो ।

गतसाल माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्तभित्र काभे्रपलाञ्चोकको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ वटा इँटा उद्योग हटाउने आठबुँदे सहमति भएको थियो । सोही सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गरी हटाउन निर्देशन दिइएको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले सहमति कार्यान्वयन नगरेपछि हामीले सहमतिअनुसार नै उद्योगको भट्टाचिम्नी भत्काएका हौँ ।”

यसअघि नपाले गत चालू आर्थिक वर्षका लागि इँटा उद्योगको नवीकरण रोकेको थियो । कार्यालयले गतसाल कात्तिकमा सार्वसाधारणमा समेत सूचित गर्दै विगत केही वर्षदेखि इँटा उद्योगका लागि जमीन ‘लिज’मा दिँदै आएकोमा आफ्नो जमीन नदिन आग्रहसमेत गरेको थियो । सोपछि गतसाल माघमा जिसस पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच गत असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ वटा इँटा उद्योग हटाउने सहमति गरिएको हो ।

त्यसताका नमोबुद्ध नपास्थित ३१ वटा सङ्घसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन नपा कार्यालयमा निवेदनसमेत दिएका थिए । तर, उद्योगीले नपाको आग्रह र स्थानीयको मागको अवज्ञा गर्दै इँटा उद्योग सञ्चालन गर्दै आएका थिए । काभ्रेपलाञ्चोकमा सञ्चालित २० वटा इँटा उद्योगमध्ये नमोबुद्ध नपाको भकुण्डेमा मात्रै आठ वटा इँटा उद्योग बजार र बस्तीका बीचमा सञ्चालित थिए ।

इँटा व्यवसायी र नगरबीच असार मसान्तभित्र उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइने, नपासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नवीनतम वातावरणमैत्री प्रविधिअनुरुप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने सहमति भएको थियो । त्यस्तै तोकिएको समय सीमाभित्र इँटा उद्योग नहटाए नपा आफैँले हटाउने र सोको लागेको खर्च उद्योगीले नै ब्यहोर्नुपर्ने, हाल उत्पादित इँटा नगरका भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिसमा व्यवसायीले तोकेको मूल्यभन्दा प्रतिगोटा रु तीन छुट दिनुपर्ने लगायत सम्झौतापत्रमा उल्लेख थिए ।

साथै, उल्लेखित बुँदा सम्झौतापत्रमा करारबमोजिम र उल्ल्ेखित नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुनेसमेत सम्झौतापत्रमा उल्लेख छ । औद्योगिक सञ्चालन ऐन २०५९ अनुसार भने मानव बस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा इँटा उद्योग सञ्चालन गर्न पाइने प्रावधान छ । उद्योग मन्त्रालयको कार्यविधि २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेछ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button