तपाईँ सुन्दै हुनुहुन्छः

पुनःस्थापनमा परेका मुक्तहलियाले घर निर्माणको रकम नपाउँदा समस्यामा

काठमाडौं ।  पुनःस्थापनमा परेका मुक्त हलिया परिवार घर निर्माणका लागि दोस्रो किस्ताको रकम नपाउँदा मर्कामा परेका छन् । दोस्रो किस्ताको रकम नपाउँदा १५५ ‘क’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवारको घर निर्माणकार्य ठप्प छ ।

घर मर्मतका लागि ‘ख’ श्रेणीका ४२३ र ‘ग’ श्रेणीका १२ परिवारले समेत दोस्रो किस्ताको रकम नपाएको राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले बताउनुभयो । “पुनःस्थापनाका लागि छनोटमा परेका परिवारले समेत जग्गा खरीद र घर निर्माणका लागि हालसम्म रकम पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार रु आठ करोड ४२ लाख आठ हजार ५०० रकम दोस्रो किस्तावापत मुक्त हलिया परिवारले पाउन बाँकी छ । पुर्नवास नगरपालिका–९ का मुक्त हलिया बलबहादुर चुनाराले दोस्रो किस्ताको रकम नपाउँदा घर निर्माणकार्य पूरा हुन नसकेको बताउनुभयो । आव २०७४÷७५ मै सरकारले सबै मुक्त हलियालाई पुनःस्थापन गरिसक्ने भनेको थियो ।

राष्ट्रिय मुक्त हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले भन्नुभयो, “अझैसम्म पुनःस्थापनकार्य पूरा हुनसकेको छैन, सरकारले निर्धारित समयमै बजेटको व्यवस्था मिलाउन नसक्दा मुक्त हलिया परिवारले कष्टकर जीवन बिताउनुपरेको छ ।” जिल्लामा लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलियामध्ये एक हजार ९९१ ले मात्रै परिचयपत्र पाएका छन् । जसमध्ये एक हजार ८९१ मुक्त हलिया पुनःस्थापनमा परेका छन् भने ५२५ सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button