तपाईँ सुन्दै हुनुहुन्छः

२२ जिल्लाका विद्यार्थी वन विज्ञान पढ्न तनहुँमा

दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गत मङ्सिर २ गतेदेखि सञ्चालनमा आएको कालीगण्डकी प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न विभिन्न २२ जिल्लाबाट विद्यार्थी आएका छन् । शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार तनहुँ, लमजुङ, स्याङ्जा, कालीकोट, बझाङ, अछाम, कैलाली, दैलेख, जुम्ला, रुकुम, दार्चुला, बाजुरा, महोत्तरी, जाजरकोट, सल्यान, हुम्ला लगायतका जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका छन् । चालीस जनाको कोटा रहेको यस शिक्षालयमा हाल ३७ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये २४ जना छात्र र १३ जना छात्रा रहेका छन् । पौडेलका अनुसार अधिकाँश छात्रछात्रा कर्णाली प्रदेशका छन् । उहाँले भन्नुभयो – “त्यस क्षेत्रमा वन विज्ञानको पढाइका लागि सिट सङ्ख्या सकिए पनि विद्यार्थीहरु खोज्दै तनहुँसम्म आइपुगेका हुन् ।” शिक्षालयमा अध्ययनरत जुम्लाका शैलेन्द्र बोहरा अध्ययन गर्न चाहनेलाई भेगले नछेक्ने बताउनुहुन्छ । नेपालमा प्राविधिक शिक्षाको माग बढी भएकाले आफूले वन विज्ञानलाई अध्ययनका लागि रोजेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – “आफ्नै ठाउँमा बसेर अध्ययन गर्ने चाहना त थियो तर, वन विज्ञान पढाइ भएका शैक्षिक संस्थामा सिट सङ्ख्या थिएन । पछि बुझ्दै जाँदा तनहुँमा रहेछ ।” शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० मातहत ११ जना र निजी स्रोतमा पाँच जना कर्मचारी कार्यरत छन् । शिक्षालयका प्रशिक्षक शिवभक्त सिग्देल जिल्लाको ग्रामीण भेगमा सञ्चालनमा आएको शिक्षालयमा समेत विद्यार्थीको आकर्षण बढ्नु खुशीको कुरा भएको बताउनुहुन्छ । वन विज्ञानको तीन वर्षे कोर्षका लागि विद्यार्थीले रु ९२ हजार शुल्क तिर्नुपर्छ । टाढा–टाढाका जिल्लाबाट आएका अधिकाँश विद्यार्थी पुट्टार क्षेत्रमै डेरा लिएर बसेका छन् । तीन वर्षसम्मको अध्ययनका लागि करीब पाँच÷छ लाख रुपैयाँ खर्च हुने अनुमान शैलेन्द्रको छ । मन्त्रिपरिषद्बाट निर्णय भई सञ्चालनमा आएको प्राविधिक शिक्षालयको अहिलेसम्म आफ्नै भौतिक संरचना छैन । अहिले सोही ठाउँमा रहेको कृष्ण माध्यमिक विद्यालयमा वन विज्ञानको पढाइ भइरहेको छ । विद्यालयले वन विज्ञान सञ्चालनका लागि तीन वटा कोठा उपलब्ध गराएको छ । एउटा कोठा प्रयोगशालाका लागि प्रयोगमा ल्याइएको छ भने दुई वटा कोठामा अध्ययन अध्यापन हुन्छ । शिक्षालयको प्रशासनिक भवनका लागि स्थानीयवासी ऋषिबहादुर दरैको घर भाडामा लिइएको छ । उहाँले भन्नुभयो – “भौतिक संरचना अभावकै बीचमा पनि पढाइ शुरु गर्न सफल भएका छौं । कृष्ण माध्यमिक विद्यालयले पढाइ सञ्चालनका लागि ठूलो सहयोग पु¥याएको छ ।” शिक्षालयले आगामी वर्षको दशै अगावै भवन निर्माण गर्ने तयारी थालेको छ । सोही ठाउँमा रहेको ७२ रोपनी जग्गा शिक्षालयको नाममा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । सोही जग्गामा तत्कालका लागि चार कोठे भवन निर्माण गर्ने तयारी भएको पौडेलले जानकारी दिनुभयो । भवन निर्माणका लागि सिटिइभिटीले रु ५० लाख विनियोजन गरेको छ । त्यसैगरी, स्थायी पूर्वाधार तयारीका लागि गण्डकी प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको छ । शान्तबहादुर श्रेष्ठ शिक्षा मन्त्रालयको सचिव भएका बेला कालीगण्डकी प्रााविधिक शिक्षालय यस ठाउँमा स्थापना गर्न सहयोग पुगेको थियो । श्रेष्ठ समग्र घिरिङ क्षेत्रको शैक्षिक उन्नयनका लागि प्राविधिक शिक्षालयले महत्वपूर्ण योगदान पु¥याएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “वन विज्ञानको जनशक्तिको नेपालमा ठूलो माग छ । त्यो मागलाई पूरा गर्न कालीगण्डकी प्राविधिक शिक्षालयले सहयोग पुग्छ ।” घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना भएर पढाइ शुरु हुनु खुशीको कुरा भएको बताउनुहुन्छ । शिक्षालयको भौतिक पूर्वाधार निर्माणमा गाउँपालिका सक्दो सहयोग गर्न तयार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button