तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य र शिक्षा क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य र शिक्षा क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायहरूको समीक्षा कार्यक्रमको समापनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना पश्चात् नागरिकको स्वास्थ्य र शिक्षा क्षेत्रमा नागरिकको पहुँच बढेको तर, नागरिकमा अझै पनि नकारात्मकता देखिएकाले अनुसन्धान गरेर त्यसमा सुधार गर्नुपर्ने बताउनुभयो ।

उहाँले नागरिकहरूको स्वास्थ्य सम्बन्धी समस्या हल गर्न प्रदेश सरकारले काम गरिरहेको भन्दै कर्मचारीले पनि सफा मानसिकताका साथ काम गर्नुपर्ने बताउनुभयो । सेवा प्रवाह र विकासका क्षेत्रमा सरकारको निरन्तर प्रयासका बाबजुद पनि नागरिकहरूमा नकारात्मक असर देखिएकाले प्रदेश सरकारका निकायहरूले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो ।

वास्तविक अनुसन्धानको आधारमा मानसिकता सफा राखेर काम गर्न कर्मचारीहरूलाई अनुरोध गर्नुहुँदै मुख्यमन्त्री लामाले सेवा सुविधा अपुग भए प्रदेश सरकारले व्यवस्था गर्ने समेत बताउनुभयो ।

उहाँले नागरिकको स्वास्थ्यको सवालमा राम्रो सर्भिस डेलिभरी हुनुपर्ने भन्दै बिरामी हुनै नपर्ने अवस्थाको बिकास गर्नुपर्ने साथै निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा आवश्यक कुराको बारेमा अनुसन्धान गरेर ल्याउन आग्रह गर्नुहुँदै नीतिगत सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका अस्पतालहरूले निजी अस्पतालसँग प्रतिस्पर्धा गर्ने गरी काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका अस्पताल, जनस्वास्थ्य र आयुर्वेदिक क्षेत्रमा समस्याहरू भएको भन्दै त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्रालय अन्तरगतका ३९ वटा कार्यालयहरूले दक्ष जनशक्तिको अभाव, तालिमको अभाव, प्रशासनिक कर्मचारीको अभाव, मेसिनरी सामाग्रीको अभाव, स्वास्थ्य बिमामा भुक्तानीको समस्यालगायतका समस्याहरू औँल्याउनुभएको थियो ।

उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताल, आयुर्वेद, जनस्वास्थ्य कार्यालय सम्मानित
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताल, आयुर्वेद, जनस्वास्थ्य कार्यालयहरूलाई पुरस्कृत तथा सम्मानित समेत गरिएको थियो ।
प्रदेश मातहतको ३९ वटा कार्यालयको मूल्याङ्कनका आधारमा आयुर्वेद तर्फ ८३.२ अङ्कसहित भक्तपुर तेस्रो, ८८.१ अङ्कसहित मकवानपुर दोस्रो र ८८.२ अङ्कसहित काठमाडौँ पहिलो भएको छ ।

यस्तै जनस्वास्थ्य तर्फ ७२.४९९ अङ्कसहित मकवानपुर तेस्रो, ७३.५७ अङ्कसहित चितवन दोस्रो र ७५.२४ अङ्कसहित ललितपुर पहिलो भयो । भने, अस्पतालतर्फ ७७.७७ अङ्कसहित धादिङ तेस्रो, ७८.४७ अङ्कसहित सिन्धुली दोस्रो र ८३.४४ अङ्कसहित भक्तपुर अस्पताल पहिलो भएको छ । सो अवसरमा मुख्यमन्त्री लामा र स्वास्थ्य मन्त्री थापाले उहाँहरूलाई पुरस्कृत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button