तपाईँ सुन्दै हुनुहुन्छः

सदरमुकाममा मात्रै उच्च सावधानी, गाउँमा संक्रमण बढ्दै 

जुम्ला । गाउँमा स्थानीयको चरम लापरबाहीले दोस्रो लहरको कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । साबुन पानीले हात नधुने, सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाउने लगायतका सावधानी नअपनाउँदा कोरोना फैलिएको हो । यही साता तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भयो । त्यसपछि राँका गाउँलाई १० दिन सम्म सिल गरिएको छ ।
गाउँमा एकाएक संक्रमण बढेपछि गाउँका नागरिक त्रसित भएका छन् । त्यस्तै डेढ हप्ताअघि मात्रै तातोपानी ६ कै रावतबाडा गाउँमा पनि एकाएक संक्रमण बढेपछि गाउँ सिल गरिएको थियो ।भने, अन्य गाउँमा पनि संक्रमण बढी रहेकै छ ।
पछिल्लो समय सदरमुकाम संक्रमण घट्नु र गाउँमा संक्रमण फैलिनुको कारण गाउँमा बढ्दो लापरबाही र सदरमुकाममा उच्च सावधानी नै हो । जुम्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन । घरबाहिर निस्कँदा मास्कको प्रयोग हुँदैन । घरमा आउँदा नियमित साबुन पानीले हात धुने गरेको भेटिँदैन। खेती किसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको समेत पाइँदैन ।
जताततै भिडभाड र लापरबाही बढिरहेको छ । तातोपानी १ का वडाध्यक्ष प्रेम कठायत भन्छन्, खेतीपातीको सिजन भए पनि सावधानी छैन। स्वास्थ्य भन्दा काममै बढी ध्यान दिन्छन् । घरघरमा ज्वरोका बिरामी भेटिएपछि परीक्षण गर्दा संक्रमण देखियो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गाउँमा न निषेधाज्ञाको पालना गरिएको छ, न त निषेधाज्ञाबारे अनविज्ञ नै छन् । स्थानीय लोक दमाईले स्थानीयकै लापरबाहीले संक्रमण बढ्न सक्ने जोखिम भएकाले गाउँमा कडा निषेधाज्ञा गर्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, बिना सावधानी गाउँ गाउँमा विकासे काम, खेतीपाती भइरहेका छन्। एक गाउँदेखि अर्को गाउँमा गएर खेति किसानीको काम भइरहेका छन्। गाउँमा जमघट हुने, भिडभाड गर्नेदेखि मन्दिरमा देवताको पूजा गर्ने र सामूहिक रूपमा छलफल भइरहेका छन् ।
गाउँतिर कोरोनाका हटस्पट सुर्खेत नेपालगन्जदेखि आउने व्यक्ति निर्बाध रूपमा गाउँ प्रवेश गरिरहेका छन् । होम आइसोलेसनका नाममा घरमा बसिरहेका छन् । स्थानीय तहले बनाएका आइसोलेसनमा बस्न मानिरहेका छैनन् । गाउँमा कोरोना संक्रमण बढिरहेको छ । स्थानीय तहका आइसोलेसन प्रयोगविहीन छन् चिकित्सकसहितको कोभिड अस्पताल हरेक स्थानीय तहमा सञ्चालनमा छन्। तर अधिकांश कोभिड अस्पताल र आइसोलेसन रित्तै छन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पिसिआर परीक्षण गर्न जाँदा कोरोना जँचाउन मान्दैनन्। कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडीबुटी खोज्न जङ्गलतिर जाने गरेको स्थानीय बताउँछन् ।
स्थानीयले गाउँका जनप्रतिनिधिले कोरोना रोकथाममा सक्रियता बढाए पनि स्थानीयको लापरबाहीले जोखिम बढेको छ । कोरोना रोकथामका लागि जारी लकडाउन प्रभाव सदरमुकाममा मात्रै देखिन्छ । गाउँमा होटल, पसल सबै खुल्लै छन् । मास्क समेत स्थानीयले नियमित प्रयोग गरेको पाईदैन् ।
सदरमुकाम खलङ्गा आसपासमा भने निकै कडा  छ । स्थानीयले प्रशासनले तोकेको समयमा बाहेक अरू बेला बजार खुल्न पाउँदैनन्। स्वास्थ्यकर्मी र कर्मचारीबाहेक अन्यले आवतजावत गर्न पाउँदैनन्। चोक चौकमा प्रहरी परिचालन गरिएको छ  ।
औषधि पसल तथा खाद्यवस्तु बाहेक सबै सेवा ठप्प गर्न आदेश दिएको छ । सदरमुकाम खलङ्गामा निषेधाज्ञाको पालना राम्रै भएको छ । तर गाउँमा बेहाल नै छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार हालसम्म जुम्लामा ४ सय ९६ जना संक्रमित छन्। २५७ जना निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जनाको उपचार भइराखेको छ । जुम्ला बाहिरका तीन जना र जुम्लाका दुई जना गरेर पाँच जनाको मृत्यु भइसकेको छ ।
सदरमुकाममा मात्रै कडा र गाउँमा लापरबाही भएको कोरोना सिकार गाउँका नागरिक स्वयम भइरहेका छन् । अझै सचेतना कार्यक्रममा जोड दिन आवश्यक रहेको नागरिक अगुवा राज बहादुर महत बताउँछन् । प्रहरी प्रशासनले सदरमुकाम जस्तै गाउँमा निषेधाज्ञाको पालना बारे हरेक दिन गाउँ गाउँमा स्कटीङ गर्नुपर्ने समेत उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button