तपाईँ सुन्दै हुनुहुन्छः

मकैको बिउमा किसानलाई ५० प्रतिशत अनुदान

तुलसीपुर । तुलसीपुर क्षेत्रका किसानलाई मकै खेतिका लागि उन्नत बिउमा ५० प्रतिशत अनुदान दिइने भएको छ ।

पछिल्लो समय किसानहरु हाईब्रिट जातका मकैतर्फ आकर्षित भइरहेका बेला त्यसलाई रोक्न तुलसीपुर उपमहागनरपालिका अन्तर्गत रहेको कृषि विकास शाखाले यस्तो तयारी गरेको हो ।

हाईब्रिट बिउको खेति गर्दा त्यसबाट उत्पादित मकै पुनः बिउमा प्रयोग गर्न नसकिने र बिउका लागि सधै बाहिर परनिर्भर रहनु पर्ने भएकाले उन्नत बिउतर्फ किसानलाई आकर्षित गर्न अनुदानको प्याकेज अघि सारिएको कषि विकास शाखा प्रमुख धनराज गौतमले जानकारी दिनुभयो ।

मकैको बिउ अनुदान लिनका लागि किसानले सम्बन्धित वडा कार्यालय वा कृषि शाखामा पनि सम्पर्क गर्न सकिने बताइएको छ ।

शाखाले सम्पर्कका लागि ०८२५२००१६ मा सिधै सम्पर्क गरेर मकैको बिउ कति आवश्यक पर्छ सोही अनुसार टिपाउन भनेको छ ।

उन्नत जातको मकैको बिउका लागि अहिलेसम्म करिब १५ मेट्रिक टनको माग आएको कृषि विकास शाखाले जानकारी दिएको छ । मकै रोप्ने समय बैशाख महिनालाई उपयुक्त मानिन्छ ।

तुलसीपुर उपमहागनरपालिका क्षेत्र भित्र चार हजार चार सय हेक्टर क्षेत्रफलमा मकै खेति हुदँै आएको छ । बार्षिक आठ हजार नौ सय मेट्रिक टन उत्पादन हुने मकैका लागि बिउ मात्रै एक सय १० मेट्रिक टन आवश्यक पर्ने शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

बिभिन्न सहकारी र किसानको घरमा करिब ४४ मेट्रिक टन बिउ भएको र अन्य करिब ६६ मेट्रिक टन बिउ आवश्यक पर्ने कृषि शाखाले जानकारी दिएको छ ।

लकडाउनले कृषिलाई कुनै असर नपर्ने बताइएको छ । ‘एग्रोभेट र कृषि सामग्री संस्थानसँग बसेर छलफल भएको छ । पहिलो चरणमा खेति गरिने मकै बालिका लागि रासायनिक मल पनि पर्याप्त छ ,’ शाखा प्रमुख गौतमले भन्नुभयो –‘ बिउ पनि कुन जातको लगाउने हो । त्यो पनि तयारी अवस्थामा छ । लकडाउनले ढुवानीमा कुनै असर पार्दैन ।’

विभिन्न समयमा आउने विषम परिस्थीतिमा सम्भावित खाद्यन्न संकट टार्नका लागि र पुनः प्रयोगमा ल्याउन सकिने, तथा रोग किरा लाग्नबाट बचाउन र उत्पादन र कम खर्चिलोका लागि पनि उन्नत जातको बिउ उपयुक्त भएको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button