तपाईँ सुन्दै हुनुहुन्छः

टुकीकै भरमा रात काट्न बाध्य छन् चौफेरीका बासिन्दा

बाँके । अधिकांश मतदाताले स्थानीय चुनावका लागि भोट माग्दै दैलोमा आएका उम्मेदवारसँग बाटोघाटो, व्यवस्थित गाउँ, शैक्षिक सुधारको चाहना व्यक्त गर्दै आएका छन् ।

तर, बाँकेको डुडुवा गाउँपालिका वडा नं १  र २ का आधा दर्जन गाउँका मतदाताको माग भिन्न छ । उनीहरू भन्छन्– ‘डुडुवा खोलामा बाढी आउँदा गाउँमै थुनिनुपर्ने बाध्यता हटाइदिनेलाई भोट दिन्छौँ ।’ राप्ती नदी र डुडुवा खोलामा बाढी आउँदा हरेक बर्खामा सदरमुकाम र बजारसँगको सम्बन्ध टुट्ने गर्छ । उम्मेदवारसँग उनीहरूले यी खोलामा पुल हाल्नुपर्ने माग गरेका छन् ।

‘हरेक उम्मेदवारसँग झोलुङ्गे पुल माग गरेका छौँ,’ बार्डर चौफेरीका प्रेम बहादुर यादवले भन्नुभयो, ‘डुडुवा खोला तर्न नसकेर हामी तीन महिनासम्म बजार र सदरमुकाम जान सक्दैनौँ । पुल बनाइदिए हामीलाई अरू विकास चाहिएन ।’

बाटोघाटो, खानेपानी र बिजुलीको चरम समस्या रहेको चौफेरी लगायत आधा दर्जन गाउँका बासिन्दा अझै टुकीकै भरमा रात काट्छन् । केही घरमा मात्र सोलार जडान छ । विकास र सरकारी पहुँचबाट टाढा रहेका यी बस्ती डुडुवा गाउँपालिकामा पर्छ । अधिकांश स्थानीय खेतीपातीबाट गुजारा गर्छन् । कसैले दूध बेचेर थोरै रकम आम्दानी गर्छन् । ‘तीन महिना बजारसँग सम्पर्क विच्छेद हुँदा दूध बिक्री गर्नसम्म पाउँदैनौँ,’ सन्तवीर यादवले भन्नुभयो, ‘त्यसैले हामीलाई अरू विकासभन्दा खोलामा पुल चाहिएको हो ।’

सरकारले दुर्गम बस्तीमा ग्रामीण विद्युतीकरणका लागि चासो नदिएका कारण स्थानीयवासी टुकीकै भरमा जीवन गुजारिरहेका छन् ।

बिजुली नपुगेका कारण ती परिवारले सोलार, टुकी र मट्टितेलको प्रयोग गर्दै आएका छन् । ग्रामीण भेगमा रहेका ती बस्तीमा बिद्युतीकरण गर्न ढिलाइ हुँदा नागरिकले उज्यालो देख्न पाएका छैनन् ।

बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् । उनीहरुलाई पढ्न समस्या भएको छ । रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत बञ्चित भएको स्थानीयहरूले गुनासो गरे । उक्त क्षेत्रमा राज्यको पहुँचका नाममा स्वास्थ्यकर्मीहरू गाउँघर क्लिनिक सञ्चालन गर्न पुग्छन् त्यस बाहेक राज्यको कुनै पहुँच नपुगेको स्थानीय प्रेम यादवले बताउनु भयो । उहाँले भन्नुभयो, घरको सामान किनमेल देखि उपचार समेत भारत कै भरमा गर्नु परेको छ । सदरमुकामसँग सडक नजोडिएको कारणले भारतको भरमा बस्नु परेको यादवले सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button