तपाईँ सुन्दै हुनुहुन्छः

एचआइभी संक्रमितका लागि भेरी अस्पतालको सेवा : ५८८ जनाले लिन्छन् एआरटी सेवा

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको एआरटी युनिटबाट ५८८ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् ।

ती मध्ये २९१ पुरुष, २५८ महिला, १५ जना बालक, १४ जना बालिका र १० जना अन्य छन् । त्यसमा नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी ११४ जना छन् भने सबैभन्दा कम जानकीमा १९ जना रहेको एआरटी काउन्सेलर इन्द्र सैनीले बताउनुभयो । यस्तै कोहलपुरमा ८३, खजुरा ५४, बैजनाथ ४२, नरैनापुर ४१, डुडुवा ३७ र राप्तीसोनारीका ३५ जना छन् । नेपालगन्ज उपमहानगरपालिकामा पनि सबैभन्दा बढी वडा नम्बर ४ मा छन् । 

एआरटी युनिटका अनुसार हालसम्म १७ सय जनालाई एआरटी सेवा दिइएको छ । सन् २००४ मा स्थापना भएको एआरटी युनिटले अहिलेसम्म १९ सय जनाको रोग पहिचान गरेको छ भने २ लाख जनाको एचआइभी परीक्षण गरिएको छ । भेरी अस्पतालका एचआइभी फोकल पर्सन वरिष्ठ फिजिसियन डा। सङ्केत कुमार रिसालले एआरटी सेवा प्रभावकारी देखिएको बताउनुभयो । डा.रिसालका अनुसार एआरटी सेवा लिइरहेका एचआइभी संक्रमित आमाबुवाबाट जन्मेका सन्तानमा पोजिटिभ देखिएको छैन । 

जुनकिरी महिला समूहले आज नेपालगन्जमा उपमहानगरपालिकाका जनप्रतिनिधिसँग आयोजना गरेको बैठकमा बोल्दै उपप्रमुख कमरुद्दिन राईले एचआइभी पहिचान, उपचार प्रक्रिया र उपचारमा आमनागरिकको पहुँच वृद्धिका लागि सबैको हातेमालो, सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिका गम्भीर र संवेदनशील रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले नेपालगन्ज उपमहानगरपालिकाले पनि एचआइभी संक्रमित बालबालिकालाई मासिक ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइरहेको बताउनुभयो । 

बैठकमा जुनकिरी आमा समूहका कार्यक्रम संयोजक रविन्द्र सिंह राठौरले संस्थागत परिचय तथा संस्थाद्वारा सञ्चालित कार्यक्रम, एचआइभी सम्बन्धि सेवा सुविधा, उपचार हेरचाह तथा स्याहारका बारेमा जानकारी गराउनुभएको थियो ।

जुनकिरीले सामुदायिक स्याहार केन्द्रमार्फत २४० लाई सेवा दिइरहेको राठौरले बताउनुभयो । ती मध्ये १२४ पुरुष, ११२ महिला र ३ जना तेस्रो लिङ्गी छन् । यसमा बाँकेका ९४, बर्दियाका ४८ र अरू अन्य जिल्लाका हुन् । जुनकिरीले घर/भेट कार्यक्रम पनि गर्दै आएको छ । यस्तै ९१७ जनाको एचआइभी जाँच गर्दा ६ जनामा पोजिटिभ देखिएको छ ।

कार्यक्रम संयोजक राठौरले एचआइभी संक्रमित बालबालिकाहरूको लागि सामाजिक संरक्षण अनुदान पनि उपलब्ध गराइरहेको जानकारी दिनुभयो । मासिक १ हजार रुपैयाँ पाउने गरी मासिक ३४ जनालाई नियमित अनुदान उपलब्ध गराइएको छ । त्यसमा बाँकेका १९ जना छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button