तपाईँ सुन्दै हुनुहुन्छः

माटो बचाउन “सौभाग्य” अभियान 

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१५ मा रहेको छ तिलोत्तमा अर्ग्यानिक फर्म एण्ड रिसर्च सेन्टर । झट्ट, सुन्दा सामान्य लाग्ने यो रिसर्च सेन्टरको पृष्ठ भूमि भने, सामान्य छैन । कृषिलाई फरक दिशातर्फ निर्देश गर्ने उद्देश्य भएको यो रिसर्च सेन्टर माटो माटोको उर्वरा शक्ति जोगाउने अभियानमा छ ।   

आज भन्दा ठिक २३ वर्ष अघि अमृत नारायण श्रेष्ठ एउटा अभियान सुरु गर्नुभयो । माटो बचाउनको लागी भन्दै रासायनिक मलको विकल्प खोज्दै अर्ग्यानिक मल उत्पादन नै गर्न थाल्नुभयो श्रेष्ठ ।  अहिले श्रेष्ठले माटोको उर्वरा शक्ति बचाउनको लागि आफैले शुरु गरेको अर्ग्यानिक फर्ममा मल उत्पादन बढ्दै गएको छ । वार्षिक ४ सय म्याट्रिक टन सम्म अर्ग्यानिक मल उत्पादन गर्नुहुन्छ । यो अभियानमा उहाँ सँगै उहाँको परिवार पनि सक्रिय रहेको छ । 

श्रेष्ठले पहिले सरकारी निकायहरूमा कृषि क्षेत्रमा काम गर्दाको अनुभवलाई सँगाल्दै नयाँ अभियानको थालनी गर्नुभएको छ । माटो, निम, बोझो, भैँसी र गाईको मल, कुखुराको सुली, काठको भुस लगायतका सामाग्रीबाट  उहाँले ३ किसिमको मलको  उत्पादन गर्दै आएको बताउनुभयो । 

मायादेवी ८ कुल प्रसाद काफ्ले विगत ५ वर्ष देखि ६ कठ्ठा क्षेत्रफलमा कृषि गर्दै आएका छन् । काफ्लेले विगतमा रासायनिक मलको प्रयोग गरेर तरकारी उत्पादन गर्दै आएका थिए । त्यतीबेलाको समयमा उनले रासायनिक मलको प्रयोग गरेको कारणले गर्दा बिस्तारै माटोको उर्वरा शक्ति कम, उत्पादनमा ह्रास आएको उनको भनाई छ । काफ्लेले भन्नुभयो,“ रासायनिक मलका कारण बालीनालीको उर्वरा शक्ति कम हुँदै गएको थियो त्यसको विकल्प भने थिएन्, हाल अर्ग्यानिक मलको विषयमा जानकारी पाएको समय देखि नै म अति हर्षित छु, स्वदेशी मलको प्रयोग गरेर एकातर्फ तरकारी खेतीमा वृद्धि भइरहेको छ भने अर्को तर्फ माटोको संरक्षण पनि भइरहेको छ । विगतमा भन्दा अहिले तरकारीको उत्पादनमा वृद्धि भएको महसुस गरेका छौ।”

काफ्ले जस्तै रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा न-१५ कोटिहवाका कृष्ण ज्ञवालीले विगत ३१ वर्ष देखि कृषि पेशा गर्दै आएका छन्। उनले करिब डेढ बिगाहा क्षेत्रफलमा नगदे बाली तथा तरकारी खेती गर्दै आएका हुन् । विगतमा ज्ञवालीले पनि रासायनिक मल प्रयोग गर्नु बाहेकको विकल्प थिएन् । तर पछिल्लो केही वर्ष यता उनले अर्ग्यानिक विशेष गरी सौभाग्य अर्ग्यानिक मलको प्रयोगले गर्दा उत्पादनमा वृद्धि भएको बताउनुभयो । 

तिलोत्तमा अर्ग्यानिक फर्म तथा रिसर्च सेन्टरका सञ्चालक अमृत नारायण श्रेष्ठले पछिल्लो समय गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरूका किसानले उक्त मल प्रयोग गर्दै आएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो माटोलाई चाहिने प्राकृतिक तत्त्वहरूको सम्मिश्रण हो, सौभाग्य प्राङगारिक मल यसमा उचित मात्रामा चाहिने तत्त्वहरू भए कै कारण यसले वर्साैसम्म पनि माटोको उर्वरा शक्तिलाई बढाएर लान्छ तर पछिल्लो समय किसानहरुले उत्पादन  बढाउनको लागि प्रयोग गर्ने रासायनिक मल आउने पुस्ताका लागि  हानिकारक रहेको बताउनुभयो । श्रेष्ठले, भन्नुभयो सरकार आफैले रासायन युक्त मललाई प्रोत्साहन गर्दै अनुदानमा मल वितरण गर्ने गरेको छ, प्राङगारिक मल घरमै बनाउन सम्भव छ यसलाई सरकारले प्रोत्साहन गर्नुपर्छ” । यसरी श्रेष्ठ परिवारले वार्षिक लाखौँ कमाउँदै आएको छ । त्यो पनि स्वदेशमै बसेर । यस्ता स्वदेशी उत्पादनलाई किसानहरू सँग जोडेर आत्मनिर्भर बन्न सक्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button