तपाईँ सुन्दै हुनुहुन्छः

क्लब स्तरीय एक दिवसीय क्रिकेट : पोखरा सेमिफाइनलमा प्रवेश

पोखरा । पोखरा क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गत संस्करणको विजेता साङ्ग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै उक्त क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप २०८१’ को पोखरा क्रिकेट क्लब समूहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको साङ्ग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । साङ्ग्रिलाका लागि सिबृन श्रेष्ठले ३५ रनको उत्कृष्ट पारी खेले पनि उनको विकेट पतनसँगै टोली सङ्कटमा परेको थियो । उहाँले ३४ बलमा ६ चौका र १ छक्काको मद्दतमा ३५ रन बनाउनुभएको थियो ।

पोखराका लागि सुवास भण्डारीले ४ विकेट, देव शाहले ४ र अनिश खड्काले १ विकेट लिनुभयो ।

त्यसअघि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखरा २७.१ ओभरमा ८० रन बनाउँदा अलआउट हुन पुग्यो । पोखराका लागि ओपनर मुस्कान थापाले १८ रन बनाउनुभयो ।

साङ्ग्रिलाका लागि भुवन रेग्मीले ३ विकेट लिनुभयो । सिबृन श्रेष्ठ र सुदिप पौडेलले २/२ तथा सुनम बुढा, सागर बस्याल र सुमिट शेरचनले १/१ विकेट लिनुभयो । जितसँगै पोखराको कुल ४ अङ्क रह्यो । साङ्ग्रिला र यस अघि नै बाहिरिएको लेक साइडको १/१ अङ्क रहेको छ ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् र पोखरा महानगरपालिकाको सहयोग रहेको संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

यसैबिच, भोलि (बिहीबार) कास्की क्रिकेट क्लब विरुद्ध माछापुच्छ्रे क्रिकेट क्लबबिच खेल हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button