तपाईँ सुन्दै हुनुहुन्छः

परिणाममा देखिने गरी वर्तमान सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामलाई परिणाममा देखिने गरी वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ ।

सरकारको सय दिन पुगेको अवसरमा आज सिंहदरबारबाट सरकारका महत्वपूर्ण काम र उपलब्धिहरूको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि विपद्का घटनाहरूको सामना गर्नुपरेको स्मरण गर्नुहुँदै त्यसका बावजुत पनि सुशासन, विकास र समृद्धिलाई मुल एजेन्डा बनाएर सरकार अघि बढिरहेको बताउनुभयो ।

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारका मुद्दामाथि पनि अनुसन्धान र कारबाही अगाडि बढाइने प्रतिबद्धता दोहोर्‍याउनुहुँदै प्रधानमन्त्री ओलीले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेमाथि कानुनी प्रक्रिया अघि बढेको र यो निरन्तर जारी रहने बताउनुभयो ।

सहकारीको रकम अपचलन र ठगीमा संलग्न ६ सय जनाभन्दा बढीलाई कानुनी कारबाही भइसकेको र सरकारको ध्यान सहकारी ठगहरूलाई कारबाही गर्ने सँगै बचतकर्ताको रकम फिर्ता गराउनेमा समेत केन्द्रित रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने वा भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यले देशमा अस्थिरता र अराजकता फैलाउन खोज्नेहरू सक्रिय भइरहेको प्रति पनि सरकार सचेत रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र नेकपा एमाले प्रतिस्पर्धी दल भएपनि मुलुकमा स्थिरता, शान्ति, सुशासन र विकासको सवालमा पहिलेदेखि मिलेर काम गर्दै आएको उल्लेख गर्नुहुँदै वर्तमान सरकार ढल्छ कि, ढालौला कि भन्ने दिवा स्वप्न नदेख्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री आलीले सरकारले एक सय दिनको अवधिमा दूधको भुक्तानी नपाएका दूध उत्पादक किसान तथा उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी दिएको, निर्माणकार्य सम्पन्न भई भुक्तानी पाउन बाँकी निर्माण व्यवसायीहरूको ६ अर्ब ७५ करोड रुपैयाँ बाँकी बक्यौता रकम भुक्तानी भइसकेको र हिउँदे बालीका लागि पर्याप्त रासायनिक मलको व्यवस्था मिलाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारलाई सफल बनाउन र सरकारका प्राथमिकतालाई नागरिकसम्म विस्तार गर्न कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने भएकाले राजनीतिक स्थायित्व प्रति शङ्का नगरी ढुंकका साथ काम सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन हुँदा भताभुङ्ग अवस्थामा रहेको अर्थतन्त्रमा अहिले सुधारका सङ्केतहरू देखापरेको, नीजि क्षेत्रको माग बमोजिम आर्थिक सुझाव आयोग गठन भएपछि व्यवसायीहरूमा आत्मविश्वास बढ्दै गएको विपद्का बेला पनि सेयर बजार सकारात्मक नै रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट थप लगानीका प्रतिवद्धताहरु आइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्प तथा हालैका बाढी पहिरोले क्षति पुर्‍याएका भौतिक पूर्वाधारको पुनर्निर्माण र विस्थापित नागरिकको पुन:स्थापनामा अहिले सरकारको ध्यान केन्द्रित रहेको र त्यस अनुसार काम पनि भइरहेको बताउनुभयो ।

सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक झन्झट कम गर्न सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल परीक्षा पास गर्नसाथ नागरिक एपमा नै लाइसेन्स पाउने व्यवस्था मिलाइएको, सवारी नियम उल्लङ्घन भएको स्थानमा नै त्यसको जरिवाना भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको र सरकारी कार्यालयमा कामका फाइलहरू अड्काउने र कामको समयावधि लम्ब्याएर सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्न क्युआर कोडमार्फत फाइलको मुभमेन्ट ट्र्याकिङ गर्ने प्रणाली परीक्षणका रुपमा सुरु भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम लागू भएका ५८ नापी कार्यालयमा अनलाइनमार्फत सेवा ट्रयाकिङ प्रणाली लागू भएको, नेपालभरका २ सय ६७ वटा मालपोत कार्यालयमा ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त नागरिकले लाइनमा नबसी सेवा प्राप्त गर्नसक्ने गरी व्यवस्था मिलाइएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम ७ लाख रुपैयाँ बाट बढाएर १० लाख रुपैयाँ पु¥याइएको, भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमान स्थलबाट विभिन्न अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूसँग सिधा उडान गर्ने कार्यतालिका स्वीकृत भएको बताउनुभयो । जस अनुसार यही कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडाँै हुँदै भैरहवादेखि दुबईको उडान सुरु हुने छ ।

यस्तै, फ्लाई दुबईले हप्ताको सातै दिन दुबई र भैरहवा एवम् काठमाडौँ हुँदै भैरहवा र दुबई बीच उडान भर्नेछ ।

यसैगरी जजिरा एयरवेजले हप्ताको तीन दिन भैरहवा र कुवेत एवम् कुवेत र भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button