तपाईँ सुन्दै हुनुहुन्छः

तिहार नजिकिएसँगै बासको छिटुवाको माग बढ्दै

बाँके । नेपालीहरूको दशैं सकिएसँगै बजारमा तिहारको रौनक छाएको छ। मानिसहरू तिहारका निम्ति विभिन्न सामान खरिद गर्न बजारमा निस्किएका छन्। त्यस्तै, आफ्नो बाँच्ने स्रोत जुटाउन बर्दिया जिल्लाबाट अमर सिंह नेपाली पनि कोहलपुर आउनुभएको छ। उहाँ दशैं अघिदेखि नै खर्च जुटाउनका लागि बासबाट बनाइएको छिटुवा बेच्न कोहलपुर आउनुभएको हो।

४७ वर्षका अमर सिंह नेपालीले दुई दशकदेखि बासको सामाग्री बुनेर बेच्दै आफ्नो परिवारको गुजारा चलाइरहनुभएको छ। बासको छिटुवा बनाउने परम्परागत सीप नेपालीले आफ्नो पुर्ख्यौली पेसाको रूपमा गर्दै आउनु भएको छ। तर, समयसँगै प्लास्टिकका भाँडाकुँडाहरू बजारमा प्रचलित भएपछि उनीहरूको जीविकोपार्जनमा ठूलो असर परेको छ। प्लास्टिकका सस्ता र टिकाउ सामानले गर्दा बासबाट बनाइने सामाग्रीको माग घट्दै गएको छ, जसले अमर सिंहजस्ता बासका कारिगरहरूको व्यवसाय सङ्कटमा परेको छ।

कोहलपुर बजारका व्यवसायी मोहन प्रसाद चापागाईंका अनुसार तिहारमा छिटुवाको माग केही बढेको देखिन्छ। उहाँ भन्नुहुन्छ, ‘तिहारमा विशेष गरि रोटी राख्नका लागि छिटुवाको प्रयोग गरिन्छ। त्यसैले यो समयमा बजारमा यसको माग हुन्छ, तर आधुनिक भाँडाकुँडाहरू भित्रिएसँगै बासबाट बनाइने सामानहरू कम देखिन थालेका छन्।’

परम्परागत बासका सामाग्रीहरूको स्थान अहिले प्लास्टिकले लिएको छ। प्लास्टिकको सहज उपलब्धता, सस्तो मूल्य, र टिकाउपनले गर्दा उपभोक्ताहरू अब बासको सामानतर्फ आकर्षित हुन छाडेका छन्। जसको परिणामस्वरूप बासको नाङ्लो, डालो, छिटुवा जस्ता हस्तकला बन्दै आएका कारिगरहरूको पेसा सङ्कटमा छ।

अमर सिंहजस्ता कारिगरहरूलाई आफ्नो पेसालाई जीवित राख्न कठिन भइरहेको छ। उनीहरूका लागि सरकारको सहयोग र जागरूकता अभियानहरू आवश्यक छ। यदि यस्तो हस्तकला संरक्षणका लागि प्रयास गरिएन भने, भविष्यमा बासबाट बनाइने यी परम्परागत सामाग्री लोप हुने खतरामा छन्।

सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण रहेका यी हस्तकलाहरूको संरक्षणका लागि स्थानीय बजारमा बासका उत्पादनहरूको प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ। यससँगै बासका कारिगरहरूको दैनिकी सुधार गर्न आर्थिक सहायता र प्रशिक्षण कार्यक्रमहरूको व्यवस्था पनि गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button