तपाईँ सुन्दै हुनुहुन्छः

समितिहरूमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेश गर्न सभामुख घिमिरेको निर्देशन 

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरूमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेश गर्ने गरी अगाडि बढ्न निर्देशन दिनुभएको छ ।

संसदीय समितिका सभापति र विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरू सँगको बैठकमा सभामुख घिमिरेले समितिहरूमा विचाराधिन विधेयक र त्यसलाई पास गर्न लाग्ने समयका विषयमा चासो राख्दै अगामी अधिवेशनमा विधेयक पेश गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो । 

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा आज भएको बैठकमा विभिन्न समितिका सभापतिहरूले संसद् अधिवेशन अन्त्य भएसँगै अधिकांश सांसद गृह जिल्लामा गएकाले कोरम नपुग्ने लगायतका कारण बैठक बस्न नसकेको जानकारी गराउनु भएको थियो ।

बैठकपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले समितिको बैठक बस्न कोरम नपुग्ने तथा बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको विषयमा सभापतिहरूले जानकारी गराएको बताउनुभयो ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले अधिवेशन नभएको अवस्थामा समितिको कोरम पुर्‍याउन समेत कठिन भइरहेको अवस्थामा दलका सचेतकहरू सहित समस्या समाधानको विषयमा छलफल भएको बताउनुभयो ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले समितिको कामलाई प्राथमिकता दिएर अगाडि बढाउने, कानुन निर्माण लगायतका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी गराउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिमा कोरम पुर्‍याउने, सांसद अनुपस्थित भएको विषयमा दललाई जानकारी गराउने, समितिमा विधेयक पास हुन भइरहेको ढिलाई र कारण तथा त्यसको समाधानका विषयमा छलफल भएको बताउनुभयो ।

बैठकमा कानुनमन्त्री अजयकुमार चौरसीया, उपसभामुख इन्दिरा राना, सत्तापक्ष दल एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायत विभिन्न दलका सचेतक र संसदीय समितिका सभापतिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button